Logo
Logo

बाजुराका दुई पालिकामा कृषि ऐन बन्दै


नन्दा थापा


बाजुरा । बाजुराको बडिमालिका नगरपालिका र गौमुल गाउँपालिकामा कृषि ऐनमा समावेश गरिनुपर्ने किसानका सवाल र कृषि ऐन तर्जुमासम्बन्धी पालिकास्तरीय कार्यक्रम सञ्चालन गरिएको छ ।

नागरिकको खाद्य अधिकार सुनिश्चित गराउन राष्ट्रिय कृषक समूह महासंघ नेपालले देशभरका पालिकामा कृषि ऐन बनाउन सहजीरकण गर्दै आएको छ । सोही अन्र्तगत बडिमालिका र गौंमुलमा उक्त कार्यक्रम संचालन गरिएको हो ।

कार्यक्रममा सहभागीहरुले पालिकामा तत्काल कृषि नीति बनाएर कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए । उनीहरुले प्राकृतिक प्रकोप र जंगली जनावरका कारण कृषि क्षेत्रमा संकट निम्तिएको भन्दै चिन्तासमेत व्यक्त गरेका छन् ।

जंगली जनावरबाट खेतीबाली जोगाउने सवाल स्थानीय तहको ऐनमा समावेश हुनुपर्ने मार्तडीका कर्ण थापाले बताए । पालिकास्तरीय कृषि नीति नबन्दा किसानले पाउने सेवा सुविधा नपाएको तथा कार्यक्रममा विश्वास गुम्दै गएको भन्दै यसतर्फ स्थानीय सरकार तथा सरोकारवाला गम्भीर हुनुपर्ने किसान मदन दानीको भनाइ रहेको छ ।

किसानको उत्पादनले उचित बजार नपाएको, मल, बिउ, सिँचाइ तथा कृषि सामाग्री पाउन कठिनाई भएको, कृषिका आवश्यक यन्त्रको अभाव, कृषि कार्यक्रमको दीर्घकालीन योजना भएको जस्ता समस्या कृषकले राखेका छन् । अब बन्ने ऐनले यस्ता समस्याहरु समाधान हुने कृषकले अपेक्षा गरेका छन् ।

कार्यक्रमको संयोजन फियान नेपाल, पहल तथा आर्थिक व्यवस्थापन सहास नेपाल र लिफ्ट परियोजना बाजुराले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्