Logo
Logo

अनलाइन कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको निर्देशन



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । आइतबार त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै कोरोना संक्रमण बढेकाले हरेक क्याम्पसले अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने निर्णय गरेको जनाएको छ ।

सूचनामा यसका लागि सोमबार (आज) अनलाइन कक्षाको रुटिन बनाएर सम्बन्धित डिनको कार्यालयमा पठाउनुपर्ने उल्लेख छ । विश्वविद्यालयले अनलाइन कक्षा व्यवस्थित गर्न हरेक क्याम्पसका सहायक प्रमुखको संयोजकत्वमा बढीमा सात सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्नुपर्ने सूचनामा उल्लेख छ ।

यस्तै भौतिक उपस्थितमा गर्नुपर्ने प्रयोगात्मक परीक्षा, अभ्यास शिक्षण र इन्टर्नशिपलगायत क्रियाकलाप स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गर्न सकिने सूचनामा उल्लेख छ । अनलाइन कक्षा व्यवस्थित भए नभएको अनुगमन गर्न डिनको संयोजकत्वमा अनलाइन कक्षा अनुगमन समिति पनि बन्ने त्रिविले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्