
काठमाडौं । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री तथा नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले राष्ट्रियसभा निर्वाचनमा गम्भीर अन्तर्घात भएको बताएका छन् ।
राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ मा गठबन्धनका उम्मेदवार पराजित भएपछि उनले निर्ममतापूर्वक गम्भीर समीक्षा र पारदर्शी छानबिन गरेर प्रदेशको गठबन्धन अगाडि बढ्नुपर्ने बताएका हुन् ।
संघीयताप्रति चौतर्फी प्रहार भइरहेको भन्दै उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु आफ्नो एजेन्डा, जनता, पार्टी र नेतृत्वप्रति इमानदार बन्न नसकेको उनको भनाई छ ।
‘संघीयताप्रति चौतर्फी प्रहार भइरहेको बेला झन हामी १ नं प्रदेशका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु हाम्रो एजेन्डा, जनता, पार्टी अनि नेतृत्वप्रति इमानदार बन्न सकेनौं’, उनले फेसबुकमा लेखेका छन् ।
नेता आङ्बोले गठबन्धनका जनप्रतिनिधि लालच र प्रलोभनमा परेर पार्टीलाई घात गरेको भन्दै क्षमा दिन नसिकने गल्तीको रुपमा टिप्पणी गरेका छन् । साथै गम्भीरतापूर्व समिक्षा हुने समेत आङ्बोको भनाई छ । ‘लालच र प्रलोभनमा परेर भएको यो गम्भीर अन्तरघात कुनै पनि पार्टीको निम्ति क्षम्य हुन्न । अब निर्ममतापूर्वक गम्भीर समीक्षा र पारदर्शी छानबिन गरेर प्रदेशको गठबन्धन अगाडि बढ्नुपर्छ, बढ्नेछ ।’
प्रदेश १ मा गठबन्धनतर्फबाट जनता समाजवादी पार्टीको उम्मेरदवार हेमराज राईलाई पराजित गर्दै एमालेका उम्मेदवार ग्याल्जेन शेर्पा विजयी भएका थिए ।
मतभारको आधारमा गठबन्धनले नै जित्ने निश्चित भएतापनि अन्तर्घातका कारण गठबन्धनका उम्मेदवार राई पराजित भएका हुन् ।











