काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले सुरु गरेको १५औँ महाधिवेशन प्रक्रियाबाट इतर पक्षका प्रभावशाली नेताहरू टाढिएका छन्।

देउवा पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कादेखि डा. शेखर कोइराला पक्षका नेताहरूसम्म सहभागी भएका छैनन्। खड्का देउवा पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालय स्थापना र अन्य पूर्वतयारीका काममा समेत निष्क्रिय देखिएका थिए।
यस्तै, डा. शेखर कोइरालाले यसअघि नै दुवै पक्षका महाधिवेशन गतिविधिमा सहभागी नहुने बताउँदै आएका थिए। सोहीअनुरूप उनी बिहीबारदेखि सुरु भएको वडा अधिवेशन प्रक्रियामा सहभागी भएनन्। कोइराला पक्षधर नेताहरू पूर्वकेन्द्रीय सदस्य सरिता प्रसाईं, पूर्वमन्त्री बद्री पाण्डे, सञ्जय गौतम, डा. मिनेन्द्र रिजाल र बलबहादुर केसीलगायतले पनि वडा अधिवेशनमा सहभागिता जनाएनन्।
देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारदेखि वडा अधिवेशन सुरु भएको छ। निर्वाचन समितिका संयोजक अधिवक्ता एगराज पोखरेलका अनुसार अधिकांश जिल्लामा वडा अधिवेशन प्रारम्भ भइसकेको छ। देउवा पक्षले आगामी मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ।













