
काठमाडौं । नेकपा एमालेले जनसंगठन समन्वय संयन्त्रको बैठक बोलाएको छ । बैठक शनिबार दिउँसो ३ बजे बस्ने एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।
रिजालका अनुसार एमालेले दुई वटा एजेण्डामा छलफल गर्न बैठक बोलाएको हो । भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा बस्ने बैठकमा २२ वटै जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्ष सहभागी हुनेछन् ।
सवै जनसंगठनमा सहइन्चार्ज नभएपनि इन्चार्ज र अध्यक्ष छन् । रिजालले बैठकमा स्वास्थ्य मापदण्ड पालना गरेर बैठक बस्ने बताएका छन् ।
एमालेले सरकारलाई स्थानीय चुनाव समयमै गर्न आलटाल गरेको भन्दै समयमा चुनाव गर्न दबाव दिने भएको छ ।
सत्ता गठबन्धनमा निर्वाचन ऐन संशोधन गरेर आगामी कार्तिकमा पुर्याउने तयारी भइरहेका बेला वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने पक्षमा उभिएको एमालेले पार्टीका विभिन्न जनसंठनमार्फत दबावका कार्यक्रम अघि बढाउने तयारी गरेको हो ।
संयन्त्रमा विद्यार्थी, युवा, महिला लगायत २२ वटा संगठन रहेका छन् । संयन्त्रको संयोजक एमाले नेता भानुभक्त ढकाल रहेका छन् ।











