Logo
Logo

मधेशका मुख्यमन्त्रीले शनिबार विश्वासको मत लिने


0
Shares

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सो व्यवस्थाहनुसार कात्तिक २८ गते दिउँसो १ बजे विश्वासको मत लिने मुख्यमन्त्री यादवले जानकारी दिए । त्यसका लागि प्रदेशसभा बैठक बोलाउन प्रदेशसभा सचिवालयलाई पत्राचार गर्न लागिएको उनले बताए ।

विश्वासको मत प्राप्त गर्न विभिन्न राजनीतिक दलसँग संवाद भइरहेको र विश्वासको मत लिनुअघिसम्म संवाद जारी रहने उनको भनाइ छ । नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । त्यस्तै, सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले कात्तिक २० गते राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए ।

दुई दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले सरकार जोगाउन राजनीतिक सक्रियता बढाएका छन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ ।

मधेस प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000