Logo
Logo

कोशीमा आजदेखि थप १३ भाषा सरकारी कामकाजमा लागू


0
Shares

काठमाडौं । कोशी प्रदेश सरकारले नेपाली भाषाबाहेक थप १३ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा आजदेखि कार्यान्वयनमा ल्याएको छ ।

महागुरु फाल्गुनन्द लिङ्देनको १४१औँ जन्मजयन्तीको अवसर पारेर प्रदेश सरकारले भाषासम्बन्धी कानुनी व्यवस्था कार्यान्वयनमा ल्याएको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज शुभकामना सन्देश जारी गर्दै सरकारी कामकाजको भाषासम्बन्धी व्यवस्था कार्यान्वयनमा आउनु प्रदेशका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

प्रदेश सरकारले हरेक वर्ष कात्तिक २५ गतेलाई कोशी प्रदेश भाषा दिवसका रूपमा मनाउने निर्णयसमेत गरेको छ । यससँगै आजदेखि प्रदेशमा बोलिने विभिन्न भाषा तथा मातृभाषाको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि कानुनी व्यवस्था कार्यान्वयनमा आएको मुख्यमन्त्री कार्कीले बताएका छन् ।

उनले भाषा कुनै पनि समुदायको पहिचान, इतिहास, सभ्यता, संस्कृति र मौलिकताको जीवन्त आधार भएको उल्लेख गर्दै कुनै भाषा लोप हुनु भनेको त्यससँग जोडिएको ज्ञान, परम्परा, इतिहास र सांस्कृतिक सम्पदा गुम्नु पनि भएको बताएका छन् ।

प्रदेशमा रहेका सबै जातजाति, भाषा, धर्म, संस्कृति, लिपि र परम्पराको संरक्षण गर्दै विविधताभित्रको एकतालाई अझ सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

सीमित स्रोत र साधनका बाबजुद प्रदेशमा बोलिने सबै भाषाको संरक्षण र विकासका लागि आवश्यक नीति, कानुन तथा कार्यक्रममार्फत सरकार निरन्तर अघि बढ्ने उनले बताएका छन् ।

मुख्यमन्त्री कार्कीले भाषा दिवसलाई औपचारिक उत्सवमा मात्र सीमित नराखी मातृभाषा, मौलिक पहिचान, संस्कृति, साहित्य तथा लिपिको संरक्षण र पुस्तान्तरण गर्ने साझा अभियानका रूपमा अघि बढाउन प्रदेशवासीलाई आह्वान गरेका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000