काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुले कानूनविद्सँग पुनः परामर्श गर्ने भएका छन् ।
शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले कानुनविद्हरुसँग छलफल गर्ने निर्णय गरेको हो । कानुन व्यवसायीसँग छलफल गरेर गठबन्धनको बैठक अपराह्न ४ बजे पुन बस्नेछ ।

स्थानीय तहको निर्वाचनको मिति तय गर्ने बिषयमा गठबन्धनले कानूनविद्हरुसँग छलफल गर्न लागेको हो । गठबन्धनका दलहरु निकट कानुन व्यवसायीलाई छलफलका लागि बालुवाटारमा बोलाइएको छ ।
गठबन्धनका नेताहरुले यसअघि पनि कानुनविद्हरुसँग छलफल गरेका थिए । उक्त छलफलका क्रममा गठबन्धन निकटका कानुन व्यवसायीले संविधानसंग स्थानीय तह निर्वाचन ऐन बाझिएकाले संशोधन गर्न सुझाव दिएका थिए । यस्तै स्थानीय सरकार सञ्चालन ऐनमा समेत संशोधन गर्न उनीहरुले सुझाव दिएका थिए ।
उनीहरुले संविधान र ऐनमा स्थानीय निर्वाचनसम्बन्धी व्यवस्था बाझिएको भन्दै संविधानबमोजिम ऐन संशोधन गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए । तर, निर्वाचन आयोगले भने कानुन अनुसार भन्दै बैशाखमा नै निर्वाचन गर्न दुई मिति प्रस्ताव गरेको थियो भने उसले पुनः सरकारलाई निर्वाचनको मिति चाँडो तोक्न आग्रह गरेको छ ।
सत्ता गठबन्धनले निर्वाचन सार्न खोजेको भन्दै आलोचना भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनबारे छलफलका लागि बैठक बोलाएका हुन् ।












