Logo
Logo

शिक्षक र कर्मचारीलाई कांग्रेसको अधिवेशनमा रोक


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको अधिवेशनमा सरकारी सेवामा कार्यरत शिक्षक र कर्मचारीहरूलाई सहभागी हुन रोक लगाइएको छ । ऐन र पार्टी विधानअनुसार सरकारी सेवामा रहेका कर्मचारीहरूको क्रियाशील सदस्यता नवीकरण नगरिएको हो । कांग्रेसले आफ्नो विधानमै व्यवस्था गरेर सरकारी सेवामा रहेका कर्मचारी र शिक्षकहरूलाई अधिवेशनमा सहभागी हुन नदिने नीति लिएको छ ।

कांग्रेसले नेपाल शिक्षक संघ, कर्मचारी युनियन, प्रजातान्त्रिक प्रध्यापक संघ, त्रिभुवन विश्वविद्यालय प्रजातान्त्रिवादी कर्मचारी संघ, प्रजातान्त्रिक वन प्राविधिक संघ, नेपाल आयुर्वेद चिकित्सक संघ लगायतका शुभेच्छुक तथा भातृ संघ/संगठनमा रहेकाहरूको क्रियाशील सदस्यता नवीकरण नगरेको हो ।

प्रजातान्त्रिवादी चिकित्सक संघमा आवद्ध रहेकाहरूको समेत क्रियाशील सदस्यता नवीकरण भएको छैन । कांग्रेसको वडादेखि केन्द्रीय महाधिवेशनमा सहभागिता जनाउन उनीहरूलाई ऐन तथा पार्टीको विधानले रोकेको छ । तर, सरकारी सेवाबाट सेवानिर्मित भएकाहरूको हकमा भने कुनै बाधा नरहेको कांग्रेस पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार, हाल कांग्रेसमा झन्डै नौ लाख क्रियाशील सदस्य छन् । तीमध्ये करिब दुई लाख नयाँ सदस्य थपिएको कांग्रेसको दाबी छ, जसमा ठूलो संख्या जेनजीको रहेको छ ।

कांग्रेसको १४औँ महाधिवेशनमा मतदान गरेका तथा सहभागी भएका झन्डै ८० हजार शिक्षक र कर्मचारीको सदस्यता भने यस पटक ‘होल्ड’ गरिएको छ । केन्द्रीय कार्यसमितिले कानुनी र वैधानिक प्रावधानका कारण उनीहरूको क्रियाशील सदस्यता सार्वजनिक नगरेको हो । यद्यपि, कांग्रेसको प्राविधिक समूहले उनीहरूको नामसहितको पूर्ण विवरण पार्टीको आधिकारिक प्रणालीमा आन्तरिक प्रयोजनका लागि सुरक्षित राखेको छ ।

प्रतिक्रिया दिनुहोस्