
काठमाडौं । मुगुको सोरु गाउँपालिका–४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाहीलाई ६७ वर्षीया श्रीमती हाँसुको उपचार गराउन सकस भएको छ । उनी आर्थिक अभावले ललितपुरको पाटन अस्पतालमा छट्पटाइरहेका छन् ।
उनका श्रीमती विगत पाँच वर्षदेखि दम रोगले थला गरेका छन् । ऋण सापट र वृद्धाभत्ता जोरजाम गरेर पहिलो पटक औषधि उपचार गर्न ललितपुर पाटन अस्पताल पुगेका शाही आर्थिक समस्यामा परेका छन् ।
ऋण सापट गरिल्याएको पैसा काठमाडौँ जाँदा बाटोमै सकिएपछि शाहीलाई श्रीमतीको उपचार गर्न सास्ती भएको हो ।
‘पैसा छैन डाक्टरले यो औषधि किन्नु पर्यो त्यो औषधि किन्नु पर्यो भन्न थाल्छन्’ शाहीले फोनमा कुरा गर्दै भने, ‘ऋण सापट गरिल्याएको पैसा सकियो, कसरी औषधि किनेर श्रीमतीलाई बचाऔँ ?।’
अस्पतालको शय्यामा श्रीमतीको मुख हेर्दै रुनुबाहेक अरू कुनै उपाय नभएको उनी सुनाउँछन् ।
काठमाडौँ उपत्यकामा श्रीमतीको औषधि उपचार तथा आफैँलाई बिहान–बेलुका छाक टार्नसमेत मुस्किल परेको शाहीले बताए । बिरामी श्रीमती बोकेर उनी गत मङ्सिर २३ गते घरबाट बाजुराको कोल्टी हुँदै नेपालगञ्ज पुगेका थिए । त्यहाँ केही दिन आफन्तको डेरामा बसेर शाहीले श्रीमतीको उपचार गराएका थिए ।
काठमाडौँमा छिटो र राम्रो उपचार हुन्छ भन्ने सुनेपछि शाही श्रीमतीसहित बस चढेर पुस अन्तिम साता काठमाडौँ पुगेका हुन् । उनका आफन्तले पाटन अस्पतालमा श्रीमतीलाई भर्ना गरिदिए ।
आर्थिक अभावले उनको उपचार कठिन बन्दै गएको छ । पाटन अस्पतालको तीन तलामाथि आइसियुमा शाहीकी श्रीमती उपचाररत छन् ।
बाहिर ढोकामा शाही खर्च नहुँदा छटपटाइरहेका छन् । काठमाडौंमै लामो समयदेखि ज्यालादारी काम गर्दै आएका शाहीका छोरीज्वाइँ पनि अहिले अस्पातलमै साथमा छन् । तर उनको पनि शाहीकै जस्तै अवस्था छ ।
आमाको अवस्था नाजुक हुँदै गएपछि छोरा बृजन पनि पाटन अस्पताल पुगेका छन् । ‘ऋण काढ्ने् कहिँकतै ठाउँ छैन, घरमा कोही जागिरे छैनन्, कृषि कर्म गरी जीवन निर्वाह गर्दै आएकाले उपचार खर्च जुटाउन सम्भव छैन’, बृजनले फोनमा भने ।
श्रीमती र आफ्नो सामाजिक सुरक्षा भत्ता जम्मा गरेर शाही काठमाडौँ उपचार गर्न आएका थिए ।












