Logo
Logo

पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीले अनियमितता गरेको छानविन समितिको निष्कर्ष


2.2k
Shares

काठमाडौं । नेपाल पर्यटन बोर्डका सीईओले अनियमितता गरेको छानविन समितिले निष्कर्ष निकालेको छ । पर्यटन बोर्डका कार्यकारी अधिकृत (सीईओ) डा धनञ्जय रेग्मीमाथि छानविन गर्न गठन भएको समितिले आफ्नो प्रतिवेदन बोर्डमा बुझाएको हो ।

बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा गठित समितिले सोमबार बोर्डका अध्यक्ष तथा पर्यटनसचिव महेश्वर न्यौपानेलाई बुझाएको प्रतिवेदनमा सीईओ रेग्मीमाथि नैतिक प्रश्न र आर्थिक अनियमिततामा मुछिएको निष्कर्ष निकालिएको उल्लेख छ ।

वर्ल्ड टूरिजम मार्टमा सहभागी भएर फर्कंदा त्रिभुवन विमानस्थलमा झगडा गरी जरिवाना समेत तिरेका कारण उनको कसुर पुष्टि भएको घटनालाई नैतिक प्रश्नका रुपमा प्रतिवेदनमा उल्लेख छ । उनको साथमा रहेका रहेका रक्सीको बातल कानूनले तोकेभन्दा बढी रहेको विषयमा समेत प्रश्न गरिएको छ ।

प्रतिवेदनमा कर्मचारी सरुवाका नाममा अतिरिक्त खर्च सिर्जना गरेको, अन्तर्राष्ट्रिय मेलाहरुमा सहभागी हुँदा कम्तिमा १० जना निजी क्षेत्रका व्यवसायीको सहभागिता सुनिश्चित हुनुपर्नेमा गर्न नसकेको र यसमा बोर्डको निर्देशन नटेरेको देखिएको समेत उल्लेख छ ।

डब्यूटीएममा सहभागी हुँदा निजी क्षेत्रबाट मात्र ६ व्यवसायी सहभागी भएको र खर्च भने १ करोड भन्दा माथि उठेको विषयमा समेत आर्थिक अनियमितताका रुपमा हेरिएको छ ।

बोर्डमा सीईओको कार्यकक्ष मर्मत गर्दा कागजात मिलाएर आर्थिक अनियमितता गरेको तथा जियोग्राफिकल इन्फर्मेसन सिस्टम जडानका क्रममा त्रिभुवन विश्वविद्यालयसँग गरेको ४ करोड ७३ लाख रुपैयाँमा समेत छानविन समितिले प्रश्न उठाएको छ ।

छानविन समितिले यी आर्थिक अनियमितता देखिएको विषयमा अनुसन्धान गरि कारवाही अगाडि बढाउन सिफारिस समेत गरेको छ ।

२० कात्तिकमा लण्डनबाट फर्कंदा विमानस्थलमा भन्सारका नासुसँग झगडा गरेपछि सीईओ रेग्मी विवादमा मुछिएका हुन् । उनले विमानस्थल भन्सारमा ५ हजार जरिवाना तिरेर छुटेका थिए । बोर्डले २ पुसमा उनीमाथि छानविन गर्न समिति गठन गरेपछि स्वतः निलम्बनमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्