Logo
Logo

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार


0
Shares

काठमाडौं । आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि र यसलाई अन्तराष्ट्रिय समुदायले गरेको विश्वासले नेपाललाई गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवाको आकर्षक गन्तव्य (हव)का रूपमा स्थापित गर्ने आधारशिला तयार गरेको छ । यो आधारशिलाको अनुपम उदाहरण नेपाल नेत्रज्योति सङ्घ अन्तर्गत सञ्चालित आँखा अस्पतालहरूले विदेशी नागरिकहरूलाई समेत प्रदान गरिरहेको आँखा स्वास्थ्य उपचार सेवा तथा विभिन्न देशमा सञ्चालन गर्ने निःशुल्क आँखा उपचार सेवा हो । सङ्घको सञ्जालभित्र २८ आँखा अस्पताल र २२६ आँखा उपचार केन्द्रहरू आबद्ध छन् ।

ती अस्पताल तथा उपचार केन्द्रका उत्कृष्ट सेवाका कारण आँखाको उपचारका लागि कि काठमाडौं अथवा सीमापारी धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । पछिल्लो समय सीमापारिबाट आँखाका बिरामी उपचारका लागि नेपाल आउँदछन् । उनीहरूका लागि नेपाली आँखा अस्पताल दृष्टि जोगाउने भरोसाको केन्द्र बन्दै गएको छ । नेपाली नेत्र चिकित्सकको अब्बल दक्षता, आँखा स्वास्थ्यमा भित्रिएका नवीनत उपकरण,गुणस्तरीय सेवालाई सङ्घमा आबद्ध ती अस्पताल र केन्द्रले अधिकतम् उपयोगमा ल्याएका छन् ।  यही विश्वास र भरोसाका कारण अहिले नेपालको आँखा स्वास्थ्य क्षेत्रका लागि नयाँ सम्भावना बनेको छ । 

अर्कोतर्फ आँखामा उज्यालो फर्काउने यही सेवाले देशको अर्थतन्त्रमा समेत योगदान पु¥याउन थालेको छ । सङ्घका प्रमुख वित्त अधिकृत सीए देवराज पन्तले भने, “नेपालको आँखा स्वास्थ्य सेवाले देशको अर्थतन्त्रमा योगदान पु¥याउन थालेको छ । विदेशी बिरामीहरू नेपालको आँखा अस्पतालमा उपचार गर्न आउनेक्रम वृद्धि भैराखेको छ । उनीहरूबाट प्राप्त हुने आम्दानीले नयाँ  सम्भावनालाई पनि उजागर गरेको छ ।”

उनका अनुसार नेपाल नेत्रज्योति सङ्घको सञ्जालभित्रका ती अस्पताल तथा केन्द्रहरूले आर्थिक वर्ष २०८२/८३ मा विदेशी बिरामीलाई उपचार सेवा दिएवापत एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा भित्र्याएका छन् । उनले भने,“ यो केवल एउटा आर्थिक तथ्याङ्क होइन, नेपाली स्वास्थ्य सेवाले अन्तरराष्ट्रिय स्तरमा कमाउँदै गएको विश्वासको उत्कृष्ट नमुना  पनि हो । गुणस्तरीय आँखा स्वास्थ्य सेवा वापत यो मुद्रा भित्र्याउनु प्रचुर सम्भावनाको ढोका खोल्नु हो । ” प्रमुख वित्त अधिकृत सीए पन्तका अनुसार विदेशी बिरामीबाट प्राप्त हुने आम्दानीले आँखा स्वास्थ्य सेवाको आर्थिक सम्भावनालाई पनि उजागर गरेको छ ।

गुणस्तरीय सेवाको प्रत्याभूतले निर्माण गरेको जनविश्वास 

उपचारका लागि आउने विदेशी बिरामीमध्ये बढी भारतबाट आउने गर्दछन् । यसैगरी बङ्गलादेश, भुटान सहित अन्य मुलुकका नागरिकले पनि नेपालका आँखा अस्पतालको सेवा लिइरहेका छन् । बिरामीका आफन्तले उपचारका लागि आफ्नो बिरामीलाई अर्को देश लैजानु भनेको सामान्य कुरा होइन । उपचारको गुणस्तरीय, चिकित्सकप्रतिको विश्वास, लागत , पुहुँच, सेवा प्राप्त गर्ने अवधि, बिगतमा बिरामीको अनुभव र आर्थिक लगायतका पक्षलहरुले यस्तो निर्णयमा अहं भूमिका निर्वाह गर्दछ । 

सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार आव २०८२/८३ सम्ममा नेपाली नागरिक तथा अन्य विदेशी देशका नागरिक गरी कूल पाँच करोड  दुईलाख ४८९ आँखाका बिरामीलाई सङ्घमा आबद्ध ती आँखा अस्पताल तथा केन्द्रले उपचार सेवा प्रवाह गरिसकेका छन् भने  ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ । उनले भने,“ अनुभवी नेत्र विशेषज्ञ, आधुनिक प्रविधि तथा उपकरण , शल्यक्रियाको राम्रो नतिजा, बिरामीको सेवा, तुलनात्मक रूपमा छाटो प्रतिक्षा अवधि र सर्वसुलभ उपचार खर्चका कारण नेपालको आँखा उपचार अब्बल बन्दै गएको हो । यसै कारण सीमावर्ती क्षेत्र सहित विभिन्न देशका आँखाका बिरामी नेपाली आँखा अस्पतालमा सेवा लिन रुचाइरहेका छन् ।”

एउटाविदेशी बिरामीबाट हुने आर्थिक योगदान अस्पतालको बिलमा मात्र सीमिति हुँदैन । विदेशी बिरामीले उपचार शुल्कबाहेक होटल, यातायात, खाना, औषधि र स्थानीय बजारमा पनि खर्च गर्न सक्दछन् । उनीहरूसँग आउने परिवारका सदस्य तथा सहयोगीले गर्ने खर्चले समेत विभिन्न व्यवसायमा आर्थिक गतिविधि बढाउन सक्छ । कतिपयले उपचारसँगै नेपालका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणसमेत गर्न सक्छन् । यसरी स्वास्थ्य पर्यटनले अस्पतालबाहिरका व्यवसाय र रोजगारीमा पनि योगदान पु¥याउन सक्ने सम्भावना छ ।

अन्धोपन न्यूनीकरणमा नेपालको आफ्नै अभ्यास 

नेपालबाट रोकथाम तथा उपचार गर्न सकिने अन्धोपन न्यूनीकरण गर्ने ध्येयले नेपाल नेत्रज्योति सङ्घको स्थापना विसं २०३५ मा भएको थियो । तत्कालीन समयमा विशेषज्ञ आँखा उपचार सेवा सीमित क्षेत्रमा केन्द्रित थियो । ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकका लागि उपचार प्राप्त गर्न कठिन थियो । सङ्घका अनुसार त्यसपछि अस्पताल तथा आँखा उपचार केन्द्र विस्तारसँगै समुदायमा आधारित आँखा स्वास्थ्य कार्यक्रम, विद्यालयमा दृष्टि परीक्षण, मोतियाबिन्दुको शल्यक्रिया र विभिन्न विशेषज्ञ सेवा विस्तार भएका छन् । समुदायमै पुगेर आँखा परीक्षण गर्ने र थप उपचार आवश्यक पर्ने बिरामीलाई अस्पतालसम्म पठाउने अभ्यासले सेवा आम नागरिकको पहुँचमा पु¥याउन योगदान गरेको छ ।

नेपालमा सन् १९८१ मा ०.८४ प्रतिशत रहेको अन्धोपनको दर घटेर करिब ०.२८ प्रतिशतमा आएको तथ्याङ्कले यस क्षेत्रमा भएको प्रगति देखाउँछ । सन् २०३० सम्म यो दरलाई ०.२० प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ। दृष्टि जोगिनु व्यक्तिको शिक्षा, रोजगारी, आयआर्जन र आत्मनिर्भरतासँग प्रत्यक्ष जोडिएकाले यस उपलब्धिको सामाजिक महत्त्व पनि उत्तिकै छ ।

सङ्घका महासचिव भरतबहादुर चन्दका अनुसार, संस्थाको मूल उद्देश्य सबै नागरिकलाई गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउनु हो । यही सामाजिक उत्तरदायित्वलाई कायम राख्दै सेवा विस्तार गर्न सके नेपाली आँखा स्वास्थ्य सेवाको अन्तर्राष्ट्रिय पहिचान बढ्नुका साथै देशको आर्थिक गतिविधिमा समेत योगदान पुग्न सक्छ ।  उनले भने, “अब आँखा स्वास्थ्य पर्यटनको सम्भावनालाई व्यवस्थित रूपमा उपयोग गर्न सरकारले स्वास्थ्य पर्यटनसम्बन्धी स्पष्ट नीति बनाउन, अस्पतालको पूर्वाधार तथा प्रविधिमा लगानी बढाउन, अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तर सुनिश्चित गर्न र विदेशी बिरामीका लागि उपचार प्रक्रिया सहज बनाउन आवश्यक छ । स्वास्थ्य संस्थाबीच सहकार्य र अन्तर्राष्ट्रिय प्रवर्द्धन विस्तार गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ । ”

नेपालको आँखा स्वास्थ्य सेवा केवल रोगको उपचार र दृष्टि पुनःस्थापनामा सीमित छैन । यसले मानवीय सेवा, अन्तर्राष्ट्रिय विश्वास र आर्थिक सम्भावनालाई एकै ठाउँमा जोडेको छ । सामाजिक उत्तरदायित्वलाई कायम राख्दै गुणस्तरीय सेवा विस्तार गर्न सके नेपाली आँखा स्वास्थ्य क्षेत्र आर्थिक समृद्धि र विदेशी मुद्रा आर्जनको महत्त्वपूर्ण आधार बन्न सक्छ । 

प्रतिक्रिया दिनुहोस्