Logo
Logo

प्राङ्कको आवरणमा हिंसाको खेती



क्यामेराको फ्रेममा हुन्छन्, कपिल मगर । उनी भन्छन्- नमस्कार, म हुँ तपाइँहरूकै मनोरञ्जनको साथी कपिल मगर । भिडियोको पृष्ठभूमि हुन्छ- एकान्त ।

कपिल आफूलाई पत्रकारको हवाला दिँदै अन्तर्वार्ता लिइरहेका हुन्छन् । तर, उनका अन्तर्वार्ता, अन्तर्वार्ता जस्तो छैन । उनले अतिथिहरूलाई तथानाम सम्बोधनदेखि हातपातसमेत गर्छन् । युवतीसँग टाँसेरै जिस्किन्छन् । अन्तर्वार्ता भनेपनि उनी भद्दा मजाक गरिरहेका हुन्छन् । उनका संवाद अश्लील र द्विअर्थी हुन्छ ।

कपिलले २१ मार्च ०२१ मा एउटा भिडियो युट्युबमा आपलोड गरेका छन् । भिडियोको शीर्षक छ- ‘भैँसी प्राङ्क ।’ भिडियोमा कपिलले एक युवतीलाई अन्तर्वार्ताका लागि निमन्त्रणा गरेका हुन्छन् । अन्तर्वार्ता एकान्तमा खिचिन्छ । कार्यक्रमको सुरुवात गर्दै कपिल भन्छन्- ‘आज आगो मिडियामा दुनियाँका घर जलाउने, आगो लगाउने, दुनियाँको घरबार बिगार्ने, उजाड्ने अतिथि लिएर उपस्थित भइसकेको छु ।’

आफूलाई समाजसेवी बताउँने ती युवतीले कपिलको सम्बोधनमा आपत्ति जनाउँदै भन्छिन्- ‘तपाईं कस्तो पत्रकार ? एउटा पत्रकार भएर पत्रिकारिताको दायरा थाहा छैन ? जे पायो त्यही भन्नुहुन्छ ।’

‘पत्रकारिता सिकाउन पर्दैन’ भन्दै अपिल थप्छन्- ‘ल ठिक छ उसो भए तपाईंलाई राम्रो तरिकाले सम्बोधन गर्छु, स्वागत छ भँैसी जी, हाम्रो मिडियामा ।’

२२ सेक्टेम्बर ०२१ मा दिपक लामाले ‘मलाई लाने हो डेटिङ’ शीर्षमा एउटा भिडियो युट्युबमा राखेका छन् । एकान्तमा बासिरहेकी एक महिलालाई सुरुमा दिदी भनेर सम्बोधन गर्छन् । उक्त भिडियोमा कुरा गरेअनुसार ती महिलाको श्रीमानको मृत्यु भइसकेको रहेछ । करिब तीन मिनेट कुरा गरेपछि दिपक भन्छन्- ‘श्रीमान नभएकाहरू चाहिँ म साह्रै मन पराउछु, तपाईं जस्तो श्रीमान नभएकासँग डेटिङ जान मन लाग्छ । तपाईं र म डेटिङ जाने हो ?’

प्राङ्कको हवालामा हिंसालाई बढावा दिने काम भइरहेको छ । भ्यूज आउँछ भन्दैमा अश्लील, भद्दा मजाक र हिंसा भड्काउने सामाग्री पस्कनु हिंसा हो ।

कुरा गर्दै जाँदा दिपकले ‘तपाईं र म एक भएर बसौँ, म तपाईंलाई मन पराउँछु, दुःख–सुखमा साथ दिन्छु’ भन्छन् । त्यसपछि महिला उठेर दिपकलाई झापड हान्न थाल्छिन् । केहीबेर ती महिला झापड हानिरहन्छिन् । अन्त्यमा ‘दर्शकलाई मनोरञ्जान दिन हामीले प्राङ्क भिडियो बनाएको हो’ भनेर दिपक हिँड्छन् ।

गत सेक्टेम्बर रामु बिरहीले पनि प्राङ्क भिडियो युट्युबमा हालेका छन् । उक्त भिडियोको शीर्षक छ- ‘दाईले भाउजुलाई के गर्छ ?’

भिडियोको पृष्ठभूमि कपिलकै कपी, एकान्त जंगल । गीत गाएर सुरु गरिएको अन्तर्वार्ताको पहिलो प्रश्न हुन्छ- ‘बाख्राले बोका खोजेजस्तै तपाईं के खोज्नु हुन्छन ?’

कार्यक्रम भरी नै रामु द्विअर्थी प्रश्न सोध्छन् । जुन प्रश्नहरू घर-परिवार, साथीभाइसँग बसेर सुन्न सकिँदैन । अन्तर्वार्तामा प्रश्न सोध्दै रामुले युवतीलाई खुट्टासमेत बोकाउन भ्याउँछन् । अन्तर्वार्ताभरी अश्लील नै अश्लील शब्द प्रयोग गरिन्छ ।

यस्तै, ५ मे ०२१ मा कपिलले अर्को भिडियो युट्युबमा राखेका छन् । शीर्षक छ- ‘मेरो बुढी बन्छौँ ?’

उक्त भिडियोमा कपिलले एक युवतीलाई एउटा कोठामा जागिरको लागि अन्तर्वार्ता लिन्छन् । युवतीले काम पाउँछु कि भनेर आफू आएकी बताउँछिन् । उनले आफू विवाहित भएको र आफ्नो छोरोसमेत भएको कपिललाई सुनाउँछिन् । त्यहाँ पनि कपिलले भद्दा मजाक गर्छन् ।

‘हाम्रोमा बिहे गरेकालाई काम छैन । तपाईंलाई के काम दिनु ? अनुहार नै राम्रो छैन,’ युवतीलाई देखाउँदै कपिल भन्छन्, ‘आजभोलिका केटाहरूले यस्तो पूरै कपडा लगाउने हेर्दैनन् । हट-हट खाले खोज्छन्, फिलासिला देखाउने पो हुनुपर्छ ।’

केहीबेरपछि कपिल एउटा अफर गर्छन् । युवतीलाई भन्छन्- ‘केही छैन तपाईंको बिहे भएको रहेछ । तपाईंको श्रीमानलाई थाहा नदिई तपाईं मेरो गलफ्रेण्ड बन्नुपर्छ ।’

युवतीले प्रहरी बोलाउँछु भनेपछि कपिल थप्छन्- ‘तपाईंले पोई खोजेर छोरा जन्माएर बस्दा हुने मैले चाहिँ गलफ्रेण्ड खोज्नु नहुने ? त्यो त मेरो अधिकारको कुरा हो । मलाईचहिँ स्वास्नी चाहिँदैन ?’

यी त केही उदाहरणमात्रै हुन् । डलर कमाउने धन्दामा लागेका कपिल, दिपक र रामु जस्ता जो आफूलाई पत्रकारसमेत भन्छन् तिनीहरुले अन्तर्वाताको नाममा हिंसा गरिरहेका छन् । प्रश्न सोध्ने बहानामै धेरैलाई हात लगाउँछन् । युवतीसँग टाँसिएका छन् । अश्लील, भद्दा मजाक र आपत्तिजनक दृश्य समावेश भएका भिडियो युट्युबमा हाल्छन् । यस्तै भिडियो फेसबुक, युट्युब र टिकटकमा भाइरल बन्छ ।

यति मात्र होइन, प्राङ्कको नाममा अश्लील, भद्दा मजाक हिंसा गर्ने धेरै छन् । यस्ता भिडियो बनाउनेको जमात बढेपछि गृह मन्त्रालयले सार्वजनिक स्थानमा प्राङ्क खिच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

गृहले सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टाको नाममा सर्वसाधारणलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दारी लगाउनेजस्ता क्रियाकलाप गर्नेलाई कानुनअनुसार कारबारी गर्ने बताएको छ ।

गृहको उक्त चेतावनीपछि प्राङ्क बहसको विषय बनेको छ । केही प्राङ्कर प्राङ्क गर्नु ‘हिम्मतिलो काम’ भएको बताउन थालेका छन् । सरकारले प्राङ्क गर्न रोक लगाए आफूहरू मर्कामा पर्ने उनीहरूको भनाइ छ । उनीहरू भन्छन्- ‘प्राङ्क हाम्रो काम हो, प्राङ्क गर्न रोक लगाएपछि हामी के गर्ने ? के खाने ?’

अरु भिडियोको तुलनामा युट्युबमा यस्ता भिडियोले धेरै दर्शक पाउँछ । भ्यूज बढी आएसँगै डलर पनि बढी आउँछ, आम्दानी बढी हुन्छ भन्ने उनीहरुको सोच हो । त्यसैको लोभमा प्राङ्क गर्नेको संख्या बढ्दै गएको छ । उनीहरू यसलाई रोजगारको रुपमा लिने गर्छन् । प्राङ्क भिडियो दर्शकका दुःख भुलाउने, मनोरञ्जन दिलाउने माध्यम भएको पनि उनीहरूको दावी छ ।

प्राङ्क भिडियोको नाममा उनीहरूले अशोभनीय भाषा शैलीको प्रयोग गरिरहेका हुन्छन् । प्रस्तुतीकरण त्यस्तै । द्विअर्थी संवादमात्र नभइ सिधै महिला हिंसा भइरहेको छ । कसैको शारीरिक बनावट, मानसिक अवस्थामाथि खुलेआम मजाक गर्नु हिंसा नै मानिन्छ । कपिल, दिपक र रामुकै भिडियो हेर्ने हो भने भद्दा मजाक, द्विअर्थी र अतिथिको गालीबेइज्जती पाइन्छ । उनीहरूले प्राङ्कका नाममा खुलेआम हिंसा गरिरहेका छन् ।

उनीहरु आफूले प्रयोग गरेको भाषाशैली, प्रस्तुति र व्यवहारले हिंसा गरिरहेको छ भन्ने हेक्का राख्दैनन् । नेपालको कानुनमा गालीबेइज्जतीलाई ठूलो कसुर मानिन्छ । गाली बेइज्जती ऐनमा स्पष्ट उल्लेख छ- ‘कसैले कसैलाई होच्याउने नियतले बोली वा वचनले अपमानजनक शब्द प्रयोग गरेमा निजले गाली गरेको मानिनेछ ।’

यसरी कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था कानुनमा उल्लेख छ । तर, विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जती गरे वा गराएमा त्यस्तो सजायमा थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ ।

कानुनमा उक्त व्यवस्था भएपनि नेपालमा प्राङ्क गर्नेलाई अहिलेसम्म कारबाही गरिएको सुनिएको छैन । त्यसैले पनि नेपालमा प्राङ्कको नाममा हिंसा गर्ने बढ्दै गएका छन् । भारत, अमेरिका, अष्ट्रेलियामा भने प्राङ्क गर्ने पक्राउ परेको खबर बेलाबेला सुनिन्छ ।

नेपालमा अहिलेसम्म कारबारही नभएकै कारण प्राङ्क बनाउने, रमाइलो गर्ने र पैसा कमाउने मनोविज्ञानको विकास भइरहेको छ । प्राङ्कको नाममा कोही खुकुरी लिएर दौडिने, भूत बनेर तर्साउने लगायतका क्रियाकलाप समेत हुने गरेका छन् । यसले समाजिक मूल्यमान्यतालाई समेत गिज्याइरहेको छ ।

यसरी नै यस्ता भिडियो बनाउनको संख्या बढ्दै जाने हो भने नैतिकता र गम्भीरतामाथि क्षयीकरण हुँदै जान्छ । यसले परिवार र समाजलाई समेत ध्वस्त बनाउन सक्छन् । अश्लील सामग्री र भद्दा मजाकमै रमाउने पुस्ताको जन्म हुन्छ । जसले समाजलाई फोहोरी बनाउँदै लग्नेछ । यस्ता प्राङ्करलाई नियन्त्रणमा ल्याउन नसके भयावह परिणाम आउन सक्छ । त्यसैले यस्ता प्राङ्कमाथि रोक लगाउन जरुरी छ ।

यत्रो आलोचना गरिरहँदा सबै प्रङ्कर गलत छ भन्न खोजिएको होइन । केहीले जनचेतनामूलक प्रङ्क पनि गरिरहेका छन् । अलिश राईले ‘चुरोट किन खाको ?’, ‘बाटो किन काटेको ?’, ‘माक्स खोइ ?’ जस्ता विषयमा प्राङ्क गरेका छन् । जसलाई जनचेतनामूलक प्रयांक भन्न सकिन्छ ।

तर, पत्रकारिताको हवाला दिँदै समाजमा अश्लीललाई बढावा दिने भद्दा मजाकले हिंसालाई प्रोत्साहन गरिरहेको छ । भ्यूज आउँछ भन्दैमा अश्लील, भद्दा मजाक र हिंसा भड्काउने सामाग्री पस्कनु पत्रकारिताको आचार संहित बाहिरको कुरा हो ।

प्रतिक्रिया दिनुहोस्