
काठमाडौं । एमसीसी सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन भएकोमा अमेरिकाले स्वागत गरेको छ । संसदबाट हिजो बेलुका एमसीसी अनुमोदन भएन लगत्तै काठमाडौंमा रहेको अमेरिकी दूतावासले विज्ञप्तिमार्फत अब एमसीसी सम्झौता कार्यान्वयनको दिशामा अघि बढेको भन्दै प्रतिक्रिया जनाएको छ ।
विज्ञप्तिमा सम्झौता अनुमोदनसँगै नेपाली नागरिकका लागि थप रोजगारीको सिर्जना हुनेछ उल्लेख गरेको छ । त्यस्तै विद्युत् सेवाको आपूर्ति बढ्ने र ढुवानी खर्च घट्ने उल्लेख छ । झण्डै २० वर्षअघि एमसीसीको स्थापना भएयता एमसीसी कम्प्याक्टहरूले विश्वभर नै गरिबी निवारणमा मद्दत गरेको पनि दूतावासले उल्लेख गरेको छ ।
यो वर्ष नेपाल र अमेरिका बीचको कुटनीतिक सम्बन्धको ७५औँ वर्ष रहेको उल्लेख गर्दै यी ७५ वर्षमा नेपालमा ठूला परिवर्तनहरू भएका उल्लेख विज्ञप्तिमा उल्लेख छ ।
‘यी परिवर्तनमा हामी नेपालको साथमा उभिएका छौँ र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौँ’, विज्ञप्तिमा भनिएको छ ।
अमेरिका र नेपालबीचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो रहेको भन्दै दूतावासले अमेरिका नेपाल र नेपालको लोकतान्त्रिक मूल्य मान्यता तथा दीर्घकालीन आर्थिक समृद्धिलाई निरन्तर रूपमा समर्थन गर्ने प्रतिबद्धता पनि विज्ञप्तिमा जनाएको छ ।











