काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफू निकटमा केन्द्रीय सदस्यहरुसँग छलफल थालेका छन् । बिहीबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेलगत्तै नेता श्रेष्ठले आफू निकट नेताहरुसँग आन्तरिक छलफल गरिरहेका छन् ।

गत सोमबार आफ्नो निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले घुमाउरो शैलीमा पार्टीका नेता नारायणकाजी श्रेष्ठले पार्टी छोडेर गए हुन्छ भन्ने अभिव्यक्ति दिएपछि दुई नेताको सम्बन्धमा केही चिसोपना आएको छ ।
आज आफ्नै निवास हात्तीवनमा नेता श्रेष्ठले आफू निकट केन्द्रीय सदस्यहरूसँग छलफल गरिरहेका छन् । श्रेष्ठ निकट एक नेताका अनुसार अध्यक्ष प्रचण्डसँग भएको पछिल्लो भेटवार्ता र पार्टीमा देखिएको विवादका विषयमा छलफल केन्द्रीत छ ।
पार्टीको केन्द्रीय कमिटी बैठक बस्नु एकदिन अघि नेता श्रेष्ठले आफू निकट नेताहरूसँग छलफलमा जुटेका हुन्। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।











