Logo
Logo

गठबन्धन लामो समयसम्म टिक्दैन : उपमहासचिव गुरुङ


315
Shares

पोखरा । नेकपा (एमाले) उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले वर्तमान गठबन्धन लामो समय नटिक्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै अवसरवादका जगमा बनेको गठबन्धन कमजोर बन्दै गएको बताए ।

वर्तमान सरकारले मुलुकको विकास एवं जनताका अपेक्षालाई सम्बोधन गर्न नसकेको उल्लेख गर्दै उनले पत्रकार जगत्ले यस किसिमका मुद्दालाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।

पत्रकारिता क्षेत्र जिम्मेवार र मर्यादित हुनुपर्ने बताउँदै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका गुरुङले समाजका सत्यतथ्य कुरालाई जनतामाझ ल्याउनुपर्नेमा जोड दिए ।

चौतारीमा आबद्ध पत्रकारहरु नेताका वरिपरि घुम्नुभन्दा अध्ययन, अनुसन्धानका आधारमा लेख रचनाको माध्यमबाट जनतालाई सुसूचित गर्दै समृद्ध नेपालको अभियानमा जुट्नुपर्नेमा उनको जोड थियो ।

नेकपा (एमाले) सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले माओवादीले एससिसी सम्झौतामा सडक र सदनमा दोहोरो चरित्र देखाएको बताए ।

सञ्चार क्षेत्रले समाजको परिवर्तनका लागि खोजमूलक पत्रकारितामा जोड दिँदै उनले त्यसका लागि क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए ।

पार्टी पोलिटब्यूरो सदस्य एवं गण्डकी प्रदेश सहइन्चार्ज मना केसीले पार्टीको नीति, सिद्धान्त र विचारलाई जनतासमक्ष पुर्याउन पत्रकारहरूले जिम्मेवार भएर लाग्नुपर्ने बताए ।

प्रेस चौतारी नेपालको वैशाख २७ र २८ गते पोखरामा हुने नवौं महाधिवेशन आयोजक कमिटी संयोजक गणेश पाण्डेले महाधिवेश सम्पन्न गर्न सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गण्डकी प्रदेशअन्तर्गतका ११ जिल्लाका प्रेस चौतारीका संस्थापक, केन्द्रीय पदाधिकारीलगायत १७ जनालाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्