
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक केही घण्टा पछि सरेको छ । आज ११ बजे सुरु हुने भनिएको बैठक १ बजे मात्र सुरु हुने भएको हो ।
एमसीसीले उत्पन्न तीव्र विरोधका बीच माओवादीको बैठक बस्न लागेको हो । पार्टी कार्यालय सचिव श्रीराम ढकालका अनुसार राष्ट्रिय सभा गृहमा बस्ने बैठक यहि फागुन २२ गतेसम्म चल्नेछ ।
व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने पार्टीको निर्णयमा नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल लगायतको फरक मत रहेको छ ।
उनीहरुले केन्द्रीय समिति बैठकमा एमसीसीको विषय लिखित रुपमै राख्ने तयारी छ । तर माओवादीको केन्द्रीय कमिटी बैठक मुख्य प्रयोजन पदाधिकारी तय रहेको बताइएको छ ।
माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले ११ देखि १८ पुसमा सम्पन्न भएको थियो । आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनको अधिकार केन्द्रीय कमिटीलाई दिएको थियो ।
माओवादीले २४७ सदस्यीय केन्द्रीय समिति चयन गरिसकेको छ । अब केन्द्रीय समिति बैठकले वर्तमान राजनीतिक घटनाक्रमबारे समीक्षा गर्दै पदाधिकारी चयनबारे छलफल गर्ने तयारी छ ।
माओवादीमा स्थायी समिति, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँट, केन्द्रीय कमिटीलाई पूर्णता दिन बाँकी छ । माओवादी केन्द्रमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुईजना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ ।











