काठमाडौं । झण्डै ६ महिनापछि शुक्रबारदेखि संवैधानिक इजलास बस्दैछ । शुक्रबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलासको गठन गरेपछि संवैधानिक इजलास बस्न लागेको हो ।
कामु प्रधानन्यायाधीश कार्कीले इजलासमा वरिष्ठतम् न्यायाधीश मिरा खड्का, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलास गठन गरेका हुन् । न्यायाधीशहरू वरिष्ठताका आधारमा संवैधानिक इजलासमा तोकिएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि संसद्मा महाभियोगको प्रस्ताव दर्ता भएसँगै निलम्बनमा परेको करिब डेढ महिनापछि कामु प्रधानन्यायाधीश कार्कीले संवैधानिक इजलासको गठन गरेका हुन् ।
कामु प्रधानन्यायाधीश कार्कीले नेतृत्व गर्नेगरी तोकिएको संवैधानिक इजलासकाे पहिलो पेशीमा सामान्य प्रकृतिका मुद्दा मात्रै समावेश गरिएको छ । यस पटकको संवैधानिक इजलासमा सुखीपुर नगरपालिका सिरहा, जिल्ला सरकारी वकिल कार्यालय दाङ, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लगायतको सामान्य प्रकृतिको मुद्दा मात्रै पेसीमा राखिएको छ ।
बहुप्रतीक्षित संवैधानिक नियुक्तिको विरुद्धमा परेको रिटको पेसी आगामी शुक्रबार पर्न सक्ने सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए ।
न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासबाट संवैधानिक इजलास रोकिएको थियो । आफैँ विपक्षी र झगडिया भएको मुद्दामा प्रधानन्यायाधीश बस्न मिल्ने कि नमिल्ने भन्ने विषयमा लामो बहस भएपछि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सुनुवाइको पहिलो दिन र फैसला आउने दिन आफू अनुपस्थित हुने र संवैधानिक इजलासमा आफ्नो राय नदिने भन्दै रिक्युजलको घोषणा गरेका थिए ।











