
काठमाडौं । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ ।
मकवानपुर हेटौंडाका मोती लामालाई बुधबार पक्राउ गरिएको बालाजुस्थित महानगरीय प्रहरी वृत्तको टोलीले जनाएको छ ।
प्रहरीका अनुसार मिर्गौला झिकेर बेच्ने उद्देश्यले आर्थिक प्रलोभनमा पारेर दुईजनालाई काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित न्यू दक्षिणकाली होटलमा ल्याएर राखेको अवस्थामा लामा पक्राउ परेका हुन् ।
एउटा मिर्गाैला झिक्दा खासै फरक नपर्ने रु. आठ लाख कमाइ हुन्छ भनी दुईजनालाई ललाइफकाइ माछापोखरीको होटलमा ल्याएर राखेको अवस्थामा लामालाई पक्राउ गरिएको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । प्रहरीले भारत लैजान ठीक पारिएका उनीहरूलाई उद्दार पनि गरेको थियो ।
पक्राउ परेका लामालाई मानव बेचबिखन तथा ओसारपसार उद्योगमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।











