
इलाम । नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले पार्टीभित्रको गुटबन्दी र भागबण्डा अन्त्य भएको दाबी गरेका छन् ।
बिहीबार इलाम नगरपालिकाको नगरस्तरीय क्षेत्रीय प्रतिनिधि भेलालाई सम्बोधन गर्दै उनले अगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने प्रतिवद्धता समेत जनाए । उनले भने, “कांग्रेसका सबै नेता र कार्यकर्ता एकजुट भएर निर्वाचनमा लाग्नुपर्छ । हरेक वडामा आफ्ना उम्मेदवार विजयी गराउनुपर्छ । ” पार्टीमा गुट र भागबण्डा केही हुन नदिने र अब सिंगो कांग्रेस बनाएर अघि बढ्ने उनको भनाइ थियो ।
फरक प्रसंगमा सभापति खड्काले ३६५ दिनमा ३६४ दिन कांग्रेस हुने तर, एकदिन निर्वाचनमा अर्कैलाई मतदान गरी कांग्रेसलाई पराजय गराउनेलाई यसपटक कारबाही गरेरै छोड्ने बताए । उनले भने, “ कांग्रेसबाट छनोट भएका उम्मेदवारलाई जसरी पनि सहयोग गर्नुपर्छ ।”











