Logo
Logo

एमसीसी प्रस्ट्याउने कांग्रेसको कसरतः घर–घरमा पुस्तिका पुर्याईँदै


693
Shares

काठमाडौं । नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एससीसी) सम्झौता बारे स्पष्ट पार्न नागरिकको घर–घरमा पुस्तिका पुर्याउने तयारी थालेको छ ।

संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी विकास परियोजना रहेको बुझाउन पुस्तिका तयार पारिएको कांग्रेसले जनाएको छ । कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काका अनुसार त्यसबारे पुस्तिकासहित भिडिओ पनि बनाउन लागिएको हो । चुनावी प्रचार अभियानका क्रममा एमसीसी बारे उब्जिएका भ्रम हटाउने उनको भनाइ छ । ‘चुनावी अभियान फागुन २९ गतेबाट सुरु हुन्छ । एमसीसीको वास्तविकता प्रस्ट पार्न कांग्रेसले घर-घरमा पुस्तिका पठाउँछ ।’ खड्काले भने । देशभरका वडा कार्यसमितिका सदस्यलाई सक्रिय गराएर घर–घरमा पुस्तिका पठाइने जनाइएको छ ।

फागुन २० गतेदेखि सुरु गर्ने तय भएको प्रचार अभियान ९ दिन पछिलाई सारिएको छ । फागुन २९ देखि चैत २९ सम्म प्रचारात्मक अभियान प्रारम्भ गरिने पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले बताए । संगठन सुदृढीकरणसहित स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउने लक्ष्य राखेर ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु गर्न लागिएको उनले बताए । प्रचार अभियानमा पार्टीका सबै संगठनलाई परिचालन गर्ने तयारी भएको छ । ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीति पार्टीले अघि सारेको महामन्त्री शर्माको भनाइ छ ।

स्थानीय तहमा कांग्रेसमा आबद्ध अधिकतमलाई जिम्मेवारी प्रदान गर्ने तयारी पार्टीले गरेको छ । उनले भने, ‘पद हुने तर, जिम्मेवारी नहुने हाम्रो पुरानो प्रचलन छ । यसपटक जिम्मेवारीविहीन बनाउँदैनौ ।’ प्रचार अभियानमा ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटिने छन् । चुनावी प्रसारलाई बृहत् गराउने उद्देश्यले सो अभियानको घोषणा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले गर्ने पार्टी स्रोतले जनाएको छ । वडाका संरचनालाई पूर्णता दिने, प्रशिक्षण सञ्चालन गर्ने, भेला गर्ने, सम्मानलगायतका कार्यक्रम प्रचार अभियानका क्रममा हुनेछन् । केन्द्रले निर्धारण गरेको कार्यक्रम अनुसार प्रदेश र जिल्लाले पनि लागू गर्नेछन् । केन्द्रद्धारा निर्धारित अभियानमा साथ दिन तल्लो संरचनाले थप कार्यक्रम तय गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्