काठमाडौं। ४७औँ विश्व पर्यटन दिवसका अवसरमा होटल व्यवसायी महासंघ नेपाल (HPFN) ले होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरण र व्यावसायिक सशक्तीकरणका लागि ‘National Digital Literacy Campaign for the Hotel and Restaurant Industry’ (राष्ट्रिय डिजिटल साक्षरता अभियान) को शुभारम्भ गरेको छ।

बागमती प्रदेश सरकारको पर्यटन, यातायात, उद्योग तथा श्रम मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठको विशेष उपस्थिति रहेको थियो। यसैगरी, नेपाल उद्योग व्यापार महासंघका वरिष्ठ उपाध्यक्ष यज्ञप्रसाद पन्त, नेपाल पर्यटन बोर्डका योजना तथा अनुगमन प्रमुख लक्ष्मण गौतम, पर्यटन कार्यालय बागमती प्रदेशका प्रमुख पवन पोखरेल, होटल व्यवसायी महासंघ नेपालका पूर्वअध्यक्ष अमृतबहादुर भुजेल तथा भिटोफ नेपालका अध्यक्ष हरिशरण थपलियालगायत पर्यटन तथा निजी क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो।
कार्यक्रममा महासंघका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, प्रदेश तथा जिल्ला संघका प्रतिनिधिहरू, आबद्ध संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, होटल तथा रेस्टुरेन्ट व्यवसायी, सञ्चारकर्मी एवं पर्यटन क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रालयका सचिव सुवेदीले नेपालको आतिथ्य क्षेत्रको समग्र रूपान्तरणका लागि साना तथा मझौला होटल व्यवसायीको क्षमता अभिवृद्धि र व्यावसायिक सशक्तीकरण अपरिहार्य रहेको बताए। उनले साना तथा मझौला व्यवसायीको क्षमता विकास र प्रविधिको व्यावहारिक प्रयोग विस्तार नभएसम्म नेपालको आतिथ्य क्षेत्रलाई समयानुकूल र प्रतिस्पर्धी बनाउन चुनौतीपूर्ण रहने उल्लेख गर्दै महासंघले सुरु गरेको यस अभियानलाई महत्त्वपूर्ण पहलका रूपमा लिए। अभियानले व्यवसायीलाई डिजिटल प्रविधिसँग जोड्दै उनीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले यसलाई सफल बनाउन मन्त्रालयको पूर्ण साथ, सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे।
उद्योग वाणिज्य महासंघ र पर्यटन बोर्डको प्रतिबद्धता
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले होटल व्यवसायी महासंघले अघि सारेको डिजिटल साक्षरता अभियानलाई देशव्यापी रूपमा विस्तार गर्न आफ्नो संस्था सहकार्य गर्न तयार रहेको बताए। उनले प्रदेश तथा जिल्ला तहसम्मका व्यवसायीलाई समेटेर तालिम, क्षमता अभिवृद्धि र व्यावसायिक सहकार्यका कार्यक्रम अघि बढाउन दुवै महासंघबीच समन्वय आवश्यक रहेको उल्लेख गरे।
नेपाल उद्योग व्यापार महासंघका वरिष्ठ उपाध्यक्ष यज्ञप्रसाद पन्तले निजी क्षेत्रको संस्थागत सहकार्य र व्यवसायीको क्षमता विकासमार्फत पर्यटन तथा आतिथ्य क्षेत्रको व्यावसायिक विकासमा जोड दिए।
त्यसैगरी, नेपाल पर्यटन बोर्डका योजना तथा अनुगमन प्रमुख लक्ष्मण गौतमले बोर्डले विगतदेखि नै पर्यटन प्रवर्द्धन र व्यावसायिक क्षमता अभिवृद्धिका कार्यक्रमलाई सहयोग गर्दै आएको स्मरण गराए। होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरणका लागि महासंघले अघि सारेको अभियान महत्त्वपूर्ण रहेको बताउँदै उनले आगामी दिनमा महासंघसँग थप सहकार्य र समन्वय गरेर अगाडि बढ्न पर्यटन बोर्ड तयार रहेको धारणा व्यक्त गरे।
एक दिनको कार्यक्रम मात्र नभई वर्षभरि चल्ने राष्ट्रिय अभियान
विश्व पर्यटन दिवसलाई औपचारिक समारोहमा मात्र सीमित नराखी पर्यटन व्यवसायमा प्रत्यक्ष परिवर्तन ल्याउने उद्देश्यले महासंघले यो एकवर्षे राष्ट्रिय अभियान अघि बढाएको हो। यस वर्षको विश्व पर्यटन दिवसको ‘डिजिटल प्रविधि र पर्यटन’ सम्बन्धी अन्तर्राष्ट्रिय एजेन्डालाई आत्मसात् गर्दै सुरु गरिएको यस अभियानले नेपालको परम्परागत आत्मीय आतिथ्यलाई आधुनिक प्रविधिसँग जोड्ने लक्ष्य राखेको छ।
महासंघका अध्यक्ष टी.आर. भण्डारी ‘शंकर’ को नेतृत्वमा अघि बढाइएको यस अभियानले विशेषगरी साना तथा मझौला होटल र रेस्टुरेन्ट व्यवसायीको डिजिटल क्षमता अभिवृद्धि गर्दै ठूला व्यवसायलाई समेत प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने लक्ष्य लिएको छ। डिजिटल प्रविधिको पहुँचबाट पछाडि रहेका व्यवसायीलाई आवश्यक ज्ञान, सीप र प्राविधिक सहयोग उपलब्ध गराउँदै उनीहरूको दैनिक व्यवसाय सञ्चालन, बजार पहुँच र सेवा प्रवाहमा सुधार ल्याउनु अभियानको मूल उद्देश्य हो।
सातै प्रदेशदेखि दूरदराजका व्यवसायीसम्म डिजिटल पहुँच
महासंघले आफ्ना सातवटै प्रदेश, जिल्ला तथा आबद्ध संघसंस्थाको संगठनात्मक सञ्जाल परिचालन गरी अभियानलाई देशभर विस्तार गर्ने जनाएको छ। अभियानअन्तर्गत Google Business Profile तथा Google Maps मा व्यावसायिक विवरण र लोकेसन व्यवस्थापन, OTA (Online Travel Agencies) तथा अनलाइन बुकिङ प्रणाली, होटल व्यवस्थापन प्रणाली (PMS), डिजिटल मार्केटिङ, सामाजिक सञ्जालको व्यावसायिक प्रयोग, QR Payment (क्युआर भुक्तानी), Customer Review Management (ग्राहक समीक्षा व्यवस्थापन) तथा डिजिटल सुरक्षासम्बन्धी व्यावहारिक तालिम सञ्चालन गरिनेछ।
विशेषगरी ग्रामीण क्षेत्र, राजमार्ग तथा नयाँ पर्यटकीय गन्तव्यमा सञ्चालित व्यवसायलाई डिजिटल बजारसँग जोड्दै अनलाइन माध्यमबाट ग्राहक पहुँच र व्यावसायिक अवसर विस्तारमा सहयोग पुर्याउने लक्ष्य राखिएको छ। व्यवसायको आकार, स्थान र आवश्यकताअनुसार उपयुक्त प्रविधि छनोट तथा प्रयोग गर्न सक्ने क्षमता विकास गर्नु अभियानको प्रमुख उद्देश्य हो। यसका लागि व्यवसायीको डिजिटल अवस्थाको पहिचान, आवश्यकताअनुसार प्रशिक्षण र प्राविधिक सहयोगलाई प्राथमिकता दिइनेछ।
आतिथ्य क्षेत्रको व्यावसायिक रूपान्तरणमा नयाँ पहल
होटल तथा रेस्टुरेन्ट क्षेत्र पर्यटन, रोजगारी सिर्जना र उद्यमशीलताको महत्त्वपूर्ण आधार हो। बदलिँदो पर्यटन बजारमा अनलाइन उपस्थिति, डिजिटल बुकिङ, ग्राहक समीक्षा र प्रविधिमैत्री सेवा व्यवसाय सञ्चालनका महत्त्वपूर्ण पक्ष बन्दै गएका छन्। यस्तो अवस्थामा सुरु गरिएको राष्ट्रिय डिजिटल साक्षरता अभियानले साना, मझौला तथा ठूला व्यवसायबीच प्रविधि र अवसरको पहुँचमा रहेको दूरी घटाउन, व्यवसायीको क्षमता अभिवृद्धि गर्न र नेपाली आतिथ्य क्षेत्रलाई समयानुकूल बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।
महासंघले आजदेखि सुरु भएको यस अभियानलाई आगामी एक वर्ष पहिलो कार्यचक्रका रूपमा देशभर सञ्चालन गर्दै संस्थागत निरन्तरता दिने जनाएको छ। सरकारी निकाय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड तथा निजी क्षेत्रबाट व्यक्त भएको सहकार्यको प्रतिबद्धताले अभियानलाई राष्ट्रिय स्तरमा विस्तार गर्न थप आधार तयार गरेको महासंघको विश्वास छ। विश्व पर्यटन दिवसका अवसरमा सुरु भएको यस अभियानले डिजिटल प्रविधिको पहुँचलाई व्यवसायीको वास्तविक सशक्तीकरणसँग जोड्दै नेपालको होटल तथा रेस्टुरेन्ट क्षेत्रलाई आधुनिक, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने लक्ष्य लिएको छ।














