Logo
Logo

लागुऔषधसहित तीन युवा पक्राउ


756
Shares

पाल्पा । लागुऔषधसहित तीन जनालाई प्रहरीले पाल्पाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको कोठेखोला गाउँपालिका–५ का २० वर्षीय मोहन श्रीष, ताराखोला गाउँपालिका–१ का २१ वर्षीय नितेश घर्तीमगर र २१ वर्षीय सौरभ पुन रहेका प्रहरीले जनाएको छ ।

बुटवलतर्फ जाँदै गरेको ध२प ३६९४ नंको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलको पछाडि सवार श्रीषसँग लागुऔषध भेटिएको थियो । प्रहरीले श्रीषको साथबाट नुफ्रिन तीन एम्पुल, डाइजेपाम दुई, पे्रथोजिम तीन एम्पुल, प्रयोग गरेको डाइजेपाम एक थान र सिरिन्ज दुई थान फेला पारी मोटरसाइकल चालक घर्तीमगरसहित दुवै जनालाई नियन्त्रणमा लिइएको सूचना अधिकारी लक्ष्मण पचभैँयाले जानकारी दिए ।

यसैबीच, तानसेनबाट सर्देवा जाने क्रममा रिब्दीकोट गाउँपालिकाको दुम्रीकास्थित ध१प १०४९ नंको मोटरसाइकल जाँच गर्दा पुनसँग डाइजेपाम २२, नुफ्रिन २०, पे्रथोजिम २२ गरी ६४ एम्पुल फेला पारेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पुनलाई हार्थोक प्रहरी चौकीको टोलीले जाँच गर्दा लागुऔषध ओसारपसार गरेकाले पक्राउ गरेको हो । श्रीष र घर्तीलाई पाल्पाबाट बुटवलतर्फ लागुऔषध लैजाने क्रममा प्रभाष प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्