
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अमेरिकी सहायता परियोजना (एमसीसी) नेपालको हितमा भएकाले प्रतिपक्षमा हुँदा पनि वकालत गरेको बताएका छन् ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत महानगरपालिका– ३१ को शंखमुलमा बुधबार बिहान आयोजित बुथ कार्यसमिति गठन समारोहमा उनले यस्तो बताएका हुन् । उक्त समारोहलाई सम्बोधन गर्दै नेता सिंहले एमसीसी नेपालको हितका लागि आवश्यक भएकाले वकालत गर्नुपरेको स्पष्ट पारे ।
‘एमसीसी नेपालको अर्थतन्त्रमा टेवा पुर्याउने काममा लगानी हुन थालेको र नेपालको आवश्यकताअनुसार डिजाइन भएका कारण पार्टी सरकार र प्रतिपक्षमा हुँदा पनि आवश्यकता महसुुस गर्दै वकालत गरेर हिँडेको हो,’ नेता सिंहले भने ।
सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा गर्न नमिल्ने जिकिर गर्दै उनले भने, ‘एमसीसीका बारेमा राष्ट्रघाती भनेर गलत प्रचार गरियो, राष्ट्रघाती भए संघीय संसदबाट पास हुन्थ्यो त ? सरकारमा रहँदा अगाडि बढाउने, सरकारबाट हटिसकेपछि विरोध गर्न थाल्ने ?’
उनले एमसीसीका बारेमा भ्रम छर्नेहरूले हुँदै नभएको कुरा गरेर इन्डो–प्यासिफिक रणनीतिसँग जोडेकोप्रति आपत्ति जनाए । पार्टीका सबै नेता कार्यकर्ताहरूले नागरिकको घर–घरमा पुगेर एमसीसीबारे छरिएको भ्रम चिर्दै यथार्थ बुझाएर कांग्रेसलाई विजयी गराउन जुट्नुपर्नेमा नेता सिंहले जोड दिए ।











