काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक सकिएको छ । दुई दिन बसेको केन्द्रीय समितिको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ ।
यस्तै, १४ बुँदे समसामयिक प्रस्तावहरू समेत पारित गरेको पार्टीका महासचिव बेदुराम भुसालले जानकारी दिए । साथै केही समसामयिक प्रस्ताव समेत बैठकले पारित गरेको छ ।

समूहगत छलफलका निष्कर्ष प्रस्तुत पश्चात् अध्यक्ष नेपालले छलफलमा उठेका विषय प्रष्ट पारेका थिए । पारित प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषण, एमसीसी र त्यसको व्याख्यात्मक घोषणाको चर्चा, पार्टी पुनर्गठनदेखि हालसम्म भएका संगठनात्मक कार्यहरूको समीक्षा र पार्टीको आगामी कार्ययोजना लगायतका विषय समेटिएको छ ।
समूह छलफलमा निष्कर्ष प्रस्तुत गर्नेहरूमा गण्डकी प्रदेशबाट रेखा थापा बस्याल, सुदूरपश्चिम प्रदेशबाट शेरबहादुर कुँवर, मधेश प्रदेशबाट सत्यनारायण यादव, प्रदेश एकबाट धर्मराज पौडेल, बागमतीबाट विदुर सापकोटा, कर्णालीबाट अमर थापा, लुम्बिनीबाट राजु गुरुङ, उपत्यका तथा सम्पर्क विशेष प्रदेशबाट केदार सञ्जेल र मोर्चा तथा विभागबाट प्रमेश पोखरेल रहेका थिए । यस्तै, बैठकले मोर्चा संगठन सञ्चालन निर्देशिका र सम्पर्क मञ्च सञ्चालन निर्देशिका पनि सुझावसहित पारित गरेको छ ।











