वीरगञ्ज । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीनै तहमा गठबन्धन गनुपर्ने बताएका छन् ।
बिहीबार कांग्रेसको पर्सा जिल्ला समितिका नवनिर्वाचित कार्यसमिति सदस्यलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले केन्द्रदेखि स्थानीय तहसम्म मिलेर जानुपर्ने बताएका हुन् ।
अहिलेका गठबन्धनकै सहयोगमा आफू प्रधानमन्त्री भएको भन्दै उनले भने, ‘गठबन्धनका साथीहरुको सहयोगले म प्रधानमन्त्री भएको हुँ । गठबन्धनका साथीहरुलाई बेवास्ता गर्न मिल्दैन ।’
उनले अघिल्लो निर्वाचनमा एक्लै लड्दा धेरै ठाउँमा हारेको र निर्वाचनपछि पनि सरकार बनाउने हिसाबले अघि बढ्नपर्ने उनले बताए । उनले भने, ‘एक्लै लड्दा धेरै ठाउँमा हारेका थियौं । गठबन्धन गरेर स्थानीय तहदेखि प्रदेश र केन्द्रमा पनि भोलि सरकार बनाउने हिसाबले अघि बढ्न सक्छौं ।’
आगामी निर्वाचलमा कुनै पनि पार्टीले एक्लै बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धन गर्नै पर्ने बाध्यता रहेको उनको भनाइ छ । उनले भने, ‘संविधान अनुसार कुनै पनि पार्टीले एक्लै बहुमत ल्याउन सक्दैन, कसै न कसैसँग मिल्नुपर्ने आवश्यकता छ ।’
अहिलेको गठबधन जोगाउनुपर्ने भन्दै देउवाले साझेदार दलहरुको आलोचना नगर्न आग्रह गरे । उनले भने, ‘त्यसकारण हाम्रो बोली भाषाले गठनबन्धनका भाषाले अन–नेसेसरीली चिढ्याउने काम गर्नु हुँदैन ।’
गत शनिबार कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेसलाई हात्तीको संज्ञा दिँदै गठबन्धनमा सामेल रहेको माओवादी र नेकपा (एकीकृत समाजवादी) पार्टी चमेरो भएको टिप्पणी गरेका थिए ।
त्यसपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले नै बोकेर सिंहासनमा पुर्याइदिएको रअहिले आफूहरुलाई नै अपमान गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
आगामी निर्वाचनमा प्रधानमन्त्री देउवा गठबन्धन कायमै राख्नुपर्नेमा छन् । तर, महामन्त्री गगन थापा, नेताहरु शेखर कोइरालालगायत नेताहरु गठबन्धन गर्न नहुने पक्षमा छन् ।














