काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी परियोजनाले नेपालमा काम गर्ने हुँदा ठेक्का गर्नेलाई पनि फाइदा हुने बताएका छन् । शुक्रबार निर्माण व्यवसायी महासंघको २३औँ साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री देउवाले एमसिसी परियोजनाले विद्युत् प्रशारण लाइन र सडक मर्मतमा ठेक्का गर्ने भएकोले त्यो ठेक्का पार्न सफल हुन निर्माण व्यवसायीलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले भने, ‘एमसिसीले अन्तर्राष्ट्रिय रूपमा ठेक्का आह्वान गर्छ । त्यो ठेक्का लिन नेपालसहित विभिन्न देशका कम्पनीले भर्न पाउँछन् । त्यो ठेक्का लिन तपाईंहरू सफल हुनुहोस् । म त्यसमा खुसी हुन्छु ।’
नेपालमा एकै निर्माण कम्पनीले धेरै ठेक्का लिने गर्दा समयमै काम पूरा नहुने गरेकोसमेत उनको भनाइ छ । उनले अधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गरेर नेतृत्व चयन गर्न पनि आग्रह गरेका थिए ।














