Logo
Logo

सुर्खेतमा १०औँ राष्ट्रिय खेलकुदका २३ खेल हुने


0
Shares

कर्णाली । कर्णाली प्रदेशमा आउँदो मङ्सिर १६ देखि २७ गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजकस्थल सुर्खेतमा हुने निश्चित भएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कुरिरहेको प्रादेशिक रङ्गशाला र पृष्ठभूमिमा देखिएको वीरेन्द्रनगर क्षेत्र । तस्बिरः सुरेश आचार्य/रासस

भौगोलिक कठिनाइ र पूर्वाधारका कारण प्रतियोगिताका धेरै खेल सुर्खेतमै सञ्चालन हुने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ । यस्तै पाँच खेल कर्णालीका अन्य चार जिल्लामा तथा चार खेल लुम्बिनी प्रदेशका दुई जिल्लामा आयोजना हुनेछ ।

प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार प्रतियोगिताको औपचारिक उद्घाटनअघि मङ्सिर ८ गतेदेखि नै खेल शुरू हुनेछ ।

त्यस अवधिमा पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीसहित ६ वटा खेलको प्रतिस्पर्धा शुरू हुनेछ ।

प्रतियोगिताअन्तर्गत सुर्खेतमा एथ्लेटिक्स, पुरुष फुटबल, क्रिकेट, भलिबल, हक्की, रग्बी र साइक्लिङजस्ता मैदानी खेल हुनेछन् । यसैगरी कराते, तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, उसु र बक्सिङजस्ता फाइटिङ खेल तथा ब्याडमिन्टन, टेबल टेनिस, जिम्न्यास्टिक, ह्यान्डबल, स्क्वास र बास्केटबल सुर्खेतमै खेलाइनेछ । त्यस्तै कबड्डी, आर्चरी, भारत्तोलन, ई–स्पोट्र्स र सेपाकताक्रो पनि यही ठाउँमै खेलाइने छ ।

आयोजक कमिटीका अनुसार दैलेखमा आईटीएफ तेक्वान्दो, कालीकोटमा बुद्धिचाल, सल्यानमा जुडो र कुस्ती तथा पश्चिम रुकुममा शारीरिक सुगठनका खेल आयोजना गरिनेछ । त्यस्तै पौडी र सुटिङका खेल भने नेपालगञ्ज र टेनिस र खो–खोका खेल बर्दियामा सञ्चालन गरिने कार्यक्रम बनाइएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000