काठमाडौं । नेपाली नेपाली कांग्रेसले आजदेखि एक महिने चुनावी अभियान सुरु गर्दैछ । ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ नारासहित आइतबार १ बजे एक महिने अभियानको ७७ वटै जिल्लामा एकैसाथ उद्घाटन हुने कार्यक्रम छ ।

जिल्लामा जिल्लास्तरीय उद्घाटनसभामार्फत उद्घाटन हुने यस अभियानलाई केन्द्रमा सभापति शेरबहादुर देउवाले शुभारम्भ गर्नेछन् । प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरु पुगिसकेका छन् ।
अभियानको उद्घाटनलगत्तै पालिका र वडा केन्द्रीत कार्यक्रमरुले तीव्रता पाउने भएको छ । प्रवक्ता महतले भने, ‘यो मुख्यतः जनताको घरघरमा पुग्ने अभियान हो । त्यसैले बढीभन्दा बढी कार्यक्रम वडा र टोलमा केन्द्रीत गरेका छौं । जनताका कुरा सुन्छौँ र कांग्रेसको अपरिहार्यताबारे बुझाउँछौँ ।’
कांग्रेसप्रति जनताको अपेक्षा बुझ्न टोलटोलमा अन्तरक्रिया कार्यक्रमहरु हुने बताइएको छ । त्यस्तै कांग्रेसले बैशाख ३० गते हुने स्थानीय निर्वाचन लक्षित गरेर पहिलो पटक मतदाता बनेकाहरुलाई प्रशिक्षणसमेत दिनेछ ।
कांग्रेसले १ महिने अभियानका ८ घोषित उद्देश्यहरु तय गरेको छ । जसअन्तर्गत स्थानीय निर्वाचनका लागि माहोल बनाउने, कांग्रेस जिताउन अपील गर्ने, कांग्रेस नेतृत्वको सरकारले गरेका राम्रा कामहरुको प्रचार गर्ने र नेकपा नेतृत्वको अघिल्लो सरकारका गलत कामको भण्डाफोर गर्ने लगायतका उद्देश्य रहेका छन् ।














