काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहितका सांसदलाई गरेको कारबाहीसम्बन्धी विषयमा चैत २० गतेदेखि पूर्ण सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण सुनुवाइका लागि चैत २० गतेको मिति तोकेका हुन् ।
पार्टीको नीति र निर्देशन विपरीत कामकारवाही गरेको भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपालसहित १४ सांसदमाथि कारवाही गरेका थिए । तर माधवकुमार नेपालले पार्टी विभाजन गरी एकीकृत समाजवादी पार्टी निर्माण गरिसकेको भन्दै पार्टी विभाजनपछि आएको कारवाहीलाई मान्यता दिन नसक्ने भन्दै सभामुख अग्निप्रसाद सापकोटाले उनीहरुलाई सांसदको मान्यता दिएका थिए ।
त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगलगायत विरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए । ओलीले दायर गरेका रिट आइतबार १२ औं पटक पेसीमा चढेको थियो । यसअघि ११ पटकसम्म चढेको पेसीमा पहिलोपटक कारण देखाउ आदेश जारी भएको थियो भने दोस्रो पटकको आदेशमा सक्कल कागजात झिकाउने आदेश भएको थियो । त्यसपछिको अधिकांश पेसी हेर्न नभ्याउनेमा परेको थियो भने फागुन १ गतेको पेसी महान्यायाधिवक्ता कार्यालयबाट स्थगित भएको थियो ।











