Logo
Logo

होली पर्व केन्द्रीत सुरक्षा योजनाः ३५ सयबढी सुरक्षाकर्मी खटिने


882
Shares

फाइल फोटो

काठमाडौं । सुरक्षा निकायले फागु अर्थात होली पर्वलाई शान्तिपूर्ण र मर्यादित बनाउन आवश्यक तयारी सुरु गरेको छ । यो पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन भन्दै काठमाडौं उपत्यकालाई लक्षित गरेर विशेष सुरक्षा योजना तयार गरिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पर्वका नाममा अश्लील, उच्छृङ्खल र अप्रिय क्रियाकलाप रोक्न ३५ सय बढी सुरक्षाकर्मी परिचालित हुने जनाएको छ । महानगरीय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले होलीका नाममा हुनसक्ने उच्छृङ्खल र अराजक गतिविधि नियन्त्रण गर्न सुरक्षा योजना लागू गरिएको जानकारी दिए ।

जथाभावी लोला हान्ने, पानी छ्याप्ने, ट्राफिक नियम उल्लंघन गर्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, झैझगडा गर्ने र दुव्र्यवहार गर्नेलाई कडा कारबाही गरिने प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पालका अनुसार ६८ वटा चोकमा चेकप्वाइन्ट राखिएको र सादा पोसाकका ट्राफिक प्रहरीसहितको टोलीले नियमित रुपमा संयुक्त जाँच गर्ने छन् ।

काठमाडौंका हनुमानढोका दरबार वसन्तपुर, ठमेल, दरबारमार्ग, बालाजु, पाटन दरबार र भक्तपुर दरबार क्षेत्र, जावलाखेल, सानेपालगायतका क्षेत्रमा विशेष सुरक्षा जनशक्ति खटिने छ । होली पर्व काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा भोलि र तराईका जिल्लामा पर्सि मनाइँदैछ ।

प्रतिक्रिया दिनुहोस्