Logo
Logo

एमालेले भन्यो- पूर्वप्रधानन्यायाधीश जबराको पक्राउ राज्य आतङ्कको बर्बर नमुना


252
Shares

काठमाडौं । नेकपा एमालेले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारी र रिहाइप्रति आपत्ति जनाएको छ ।सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख सचेतक ऐनबहादुर महरले सरकारको पछिल्लो कदम राज्य आतङ्क र बर्बर नमुना भएको बताएका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले असोज १० गते राति पूर्वप्रधानन्यायाधीश जबरालाई घरबाटै पक्राउ गरेको थियो । उक्त घटनाप्रति असन्तुष्टि जनाउँदै महरले भने, ‘सरकारले पूर्वप्रधानन्यायाधीश जस्तो सम्मानित र प्रतिष्ठित व्यक्तिलाई मध्यरातमा अपहरण शैलीमा पक्राउ गरेर राज्य आतङ्क र बर्बर नमुना प्रस्तुत गरेको छ। यो राज्य र विधिको शासनको चरम उल्लङ्घन हो।’

महरले सरकार गठन भएको केही समयमै विभिन्न पूर्वपदाधिकारीहरूलाई पक्राउ गर्ने शैलीले सरकारको नियतमाथि प्रश्न उठाएको बताए । ‘सरकार बनेकै दिनदेखि नै पूर्वप्रधानमन्त्री केपी ओलीदेखि पूर्वप्रधानन्यायाधीशसम्मलाई मध्यरातमा डाका शैलीमा पक्राउ गर्ने, घरमै गएर धरपकड गर्ने काम भइरहेको छ । यसले सरकारको लोकतान्त्रिक चरित्र होइन, निरङ्कुशता र स्वेच्छाचारिताको नमुना देखाउँछ,’ उनले भने ।

प्रमुख सचेतक महरले जेन्जी पुस्ताको काँधमा टेकेर सरकारले आफ्ना गैरकानुनी क्रियाकलापलाई ढाकछोप गर्ने प्रयास गरिरहेको आरोप लगाए । ‘जोसुकै व्यक्तिले कानुन मिचेको छ भने उसलाई कानुनको दायरामा ल्याउनुपर्छ, यसमा कसैको विमति छैन। तर, तथ्य र प्रमाणबिना, प्रतिशोधका आधारमा पूर्वाग्रही भएर गरिने पक्राउले कानुनको शासनलाई नै गिज्याउँछ,’ उनले भने ।

महरले सरकारले नागरिकको मान–मर्यादा, व्यक्तिगत स्वतन्त्रता र मानवअधिकारको बर्खिलाप गरिरहेको उल्लेख गर्दै यस्तो शैलीले लोकतन्त्रलाई बलियो नबनाउने बताए । ‘मान्छेलाई तर्साउने, धम्क्याउने, मध्यरातमा पक्राउ गरेर हुर्मत लिने काम अहिलेको सरकारको मुख्य शैली बनेको छ। यो विधिको शासन हो कि जसको शक्ति उसैको भक्ति भन्ने शैलीको निरङ्कुशता ?’ उनले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्