Logo
Logo

सिंहदरबारले कहिले सुन्छ १५ सय हुम्लावासीको पीडा ?


3.3k
Shares

काठमाडौं । हुम्ला दक्षिणमा रहेको अदानचुली गाउँपालिका चार वडाका १५ सय नागरिक गत कात्तिकयता अन्धकारमा बस्न बाध्य भएका छन् । कात्तिक १ गतेको वेमौसमी वर्षका कारण भत्केको कुकुरफाल्ना जलविद्युत् आयोजनाको नहर अझै मर्मत हुन नसक्दा अदानचुली ३, ४, ५ र ६ वडावासी ६ महिनादेखि अन्धकारमा बासिरहेका छन् ।

नहर मर्मतका लागि स्थानीयले उर्जा मन्त्रालय र अर्थ मन्त्रालयमा निरन्तर पहल गरेपनि सुनुवाइ भएको छैन । विदेशमा विजुली बेच्ने नारा दिने सरकारले आफ्नै देशभित्रका जनता नहर बगेर अध्यारोमा बस्दा पनि ध्यान दिन सकेको छैन । जसका कारण १५ सय अदानचुली सल्लाको दियालोको भारमा रात विताउँदै आएका छन् । जिल्ला दैविप्रकोप समितिले क्षतिको विवरण गृह मन्त्रालयमा पनि पठाएको छ ।

२०६६ सालमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रबाट अनुदान स्वीकृत भइ २०६९ सालमा पाँच करोड रुपैयाँमा जलविद्युत आयोजना निर्माण सम्पन्न भएको थियो । गत कात्तिकसम्म अदानचुलीवासीले निरन्तर बत्ती बालिरहेका थिए । नहर भिरालो जग्गामा भएकाले वर्षले भत्किने र स्थानीयले बनाउने क्रम चलिरहेको थियो । २०७८ असारको वर्षाले पनि नहरमा क्षति पु¥याएको थियो । त्यसको पनि स्थानीयवासीले मर्मत गरेका थिए ।

तर, गत कात्तिक १ गतेको बेमौसमी वर्षाले नहरलाई क्षतविच्छेत बनाएको छ । मर्मतका लागि करोडौँ रुपैयाँ लाग्ने भएपछि स्थानीयवासीले आँट गर्ने कुरै भएन । उनीहरूले केन्द्रीय सरकार र प्रदेश सरकारलाई पटकपटक ताकेता गरेका छन् । तर, अहिलेसम्म सुनुवाइ भएको छैन ।

सुर्खेत विमानस्थलबाट हेलिकोप्टरमा सामग्री ढुवानी गरेर जलविद्युत आयोजना निर्माण गरिएको स्मरण गर्छन नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका आयोजना निर्माणमा भूमिका खेलेका हस्तबहादुर शाही । ‘समुदायले मर्मत गर्न सक्ने अवस्था छैन’ शाही भन्छन्, ‘नहर भिरालो जग्गामा भएकाले पानी पर्दा सधै भत्कने समस्या छ । दीर्घकालिन समाधानका लागि पाइप जडान गरेर जानुपर्छ । स्थानीयले मात्र यो काम गर्न सम्भव छैन । तर, सरकारले हुम्लावासीको माग सम्बोधन गरेको छैन ।’

वैकल्पिक उर्जा र स्थानीयको संयुक्त पहलमा भएको अध्ययनले पाइप जडान गरेर आयोजना सुचारु गराउन तीन करोड १८ लाख रुपैयाँ खर्च लाग्ने निष्कर्ष निकालेको छ । पाइप जडान गर्दा आयोजना ५०औँ वर्ष चल्ने जानकारहरू बताउँछन् । विदेशमा विजुली बेच्ने कुरा गर्ने सरकार आयोजनाको नहर भत्केर जनता अध्याँरोमा पर्दा पनि कानमा तेल हालेर बसेको स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्