काठमाडौं । अन्तर्राष्ट्रि मैत्रीपूर्ण खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । बिहीबार थाइल्याण्डकाे चोनबुरीमा भएको खेलमा नेपाल थाइल्याण्डसँग २-० गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफमा नेपालले थाइल्याण्डलाई बराबरीमा रोकेपनि दोस्रो हाफको अन्त्यतिर दुई गोल खायो । पहिलो हाफमा थाइल्याण्डले बल पोसेसनमा अत्यधिक पकड जमाएपनि गोल गर्न सकेन । गोलरक्षक तथा कप्तान किरण चेम्जोङले केहि सुन्दर बचाउ गरेका थिए ।

८२ औं मिनेटमा थाइल्याण्डले अग्रता लियो । पेनाल्टी क्षेत्रभित्र नेपालका तीन डिफेन्डरले एकसाथ क्लिअर गर्ने प्रयास फिलिप रोलरलाई लाग्दै गोल भएको थियो ।
निर्धारित समयको १ मिनेट बाँकी रहँदा थाइल्याण्डले अग्रता दोब्बर पार्यो । खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका चओवात विराचार्टले सुन्दर गोल गर्दै जित सुनिश्चित गरे । थप समयमा दुवै तर्फबाट गोल हुन नसक्दा नेपाल २-० ले पराजित हुन पुग्यो ।
नेपालले अब आइतबार थाइल्याण्डको चोनबुरी फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल क्लबसँग रहेकाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको मान्यता पाउने छैन ।














