काठमाडौं । देशको अर्थतन्त्र गम्भीर समस्यातर्फ उन्मुख छ, तर यतिबेला निर्वाचन आयोगमा भने पैसाको खोलो बगेको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि ८ अर्ब रुपैयाँ पाएको आयोगले मनपरी तरिकाले खर्च गर्न थालेको छ ।

आयोगले झोला खरिदमा मात्र चार करोड ४५ लाख रुपैयाँ खर्च गर्न लागेको छ । निर्वाचनमा खटिने कर्मचारीलाई वितरण गर्न भनेर ५० हजार झोला खरिद गर्न लागिएको हो । जसको टेण्डर पनि मेडिकल सामानको सप्लाई गर्ने व्यापारीलाई दिने निर्णय भइसकेको छ । औषधी तथा मेडिकल सामानको सप्लाई गर्दै आएको जिएच मेडिहेल्थ कन्सर्नलाई झोलाको ठेक्का दिइएको छ । जबकी, सो कम्पनीसँग त्यससम्बन्धि कुनै अनुभव नै छैन । सस्तो दररेट प्रस्ताव गरेको आधारमा सो कम्पनीलाई ठेक्का दिइएको हो ।
सस्तो रेट मात्र हेर्दा कमसल झोला सप्लाई गरेर यसमा अनियमितता हुन लागेको आयोग स्रोत बताउँछ । सो कम्पनीका सञ्चालक मुकुन्द गौतमले त्यसअघि पटक पटक आयोगका उच्च अधिकारीलाई भेटेर सेटिङ मिलाएका थिए । स्पेशिफिकेसनमा तोकिएभन्दा कमसल झोला दिएपनि आयोगले स्वीकार्ने गरी डिल भएको स्रोत बताउँछ । गौतमले यसअघि सेटिङकै आधारमा सरकारी अस्पतालहरूमा मेडिकल सामानको टेण्डर हात पारी करोडौं कमाइसकेका छन् । उनी निर्वाचन आयोगमा पनि सेटिङ मिलाउन सफल भएका छन् ।












