काठमाडौं । वैशाख ३० आउन अब डेढ महिना बाँकी छ । स्थानीय तहको निर्वाचन परिणामले आगामी मंसिरमा हुने प्रदेश र संघको निर्वाचन परिणाम कस्तो हुन्छ भन्ने कुराको तस्बिर छर्लङ्ग पार्छ । त्यसैले सत्ता गठबन्धन दलहरूले तिनै तहको निर्वाचनमा पाँचदलीय गठबन्धनलाई निरन्तरता दिने भएका छन् ।

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले एक महिने निर्वाचन अभियान गरेर कहाँ–कहाँ गठबन्धन गर्ने भन्ने विषयमा छलफल चलाइरहेको छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल गठबन्धनको पक्षमा दृढताका साथ उभिएका छन् । तर, कांग्रेसकै शेखर कोइरालाहरू भने विगतमा कांग्रेसले क्षति व्यहोरेको ठाउँमा गठबन्धनले निर्वाचन जित्छ र त्यसको जस देउवा र पौडेलले लिन्छन् भनेर विरोध गरिरहेका छन् ।
गत चैत ११ गतेको केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो विरोधहरूलाई झोक्किँदै चुनौती दिँदै सभापति देउवाले भने– ‘त्यसो भए गठबन्धन विनै चितवनमा एक्लै निर्वाचन जितेर देखाउनुहोस् ।’ देउवाको कुरा सुनेर सबै स्तब्ध भए ।
केपी शर्मा ओलीको दुइतिहाईको सरकार ढालेको, एमाले विभाजन भएको र माओवादीको मतसमेत आफ्नो पक्षमा ल्याएर स्थानीय तहको परिणाम कांग्रेसको पक्षमा ल्याउने रणनीति देउवाको रहेको बुझिन्छ ।
त्यसो त, २०७४ सालमा देउवाले प्रचण्डसँग गठबन्धन गर्दा सोचेजस्तो परिणाम हात पार्न सकेका थिएनन् । त्यतिबेला कांग्रेसको प्रतिद्धन्दी एमाले थियो । अहिले एमाले फुटेको छ । कांग्रेसलाई स्थानीय तह जित्ने आधार भनेको एमालेको फुट नै हो । त्यसो हुँदा माधवकुमार नेपालको एकीकृत समाजवादीलाई थोरै सिटमा चित्त बुझाएर भए पनि एकीकृत समाजवादी पार्टीले एमालेको धेरै भोट काट्ने र त्यस्तो ठाउँमा सामान्य मतले स्थानीय तह कांग्रेसले जित्ने हिसाबकिताब रहेको छ ।
एकीकृत समाजवादी र माओवादी केन्द्रका नेता तथा कार्यकर्तामा पनि बरु कांग्रेसले जितोस्, एमालेलाई हराउँनैपर्छ भन्ने मनोविज्ञान पलाएको छ । अरु हिसाबले २०७४ सालमा कांग्रेससँग झिनो मतान्तरले गुमाएका धेरै पालिकाहरू कांग्रेसको पोल्टामा जाने निश्चित छ । गठबन्धनबाट तलतलका कांग्रेस कार्यकर्ताहरू हौसिएका छन् भने एमाले अहिले देखि नै पराजयको ‘मुड’ मा छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ, घमण्ड र प्रतिगामी सोचका कारण संघ र प्रदेश सरकारबाट बढारिएको एमाले स्थानीय तहमा पनि पत्तासाफ हुने अवस्थामा पुगेको छ । प्रधानमन्त्री हुँदा असंवैधानिक रुपमा दुई–दुई पटक संसद विघटन गरेर संविधान र व्यवस्था नै मास्न खोजेपछिका हरेक निर्वाचनमा एमाले बढारिँदै आएको छ । राष्ट्रिय सभाको उपनिर्वाचनबाट एमाले बढारिने क्रम सुरु भएको हो ।
बागमती प्रदेशबाट रिक्त भएको राष्ट्रिय सभा सदस्यका लागि माओवादी केन्द्रबाट जितेका रामबहादुर थापालाई ओलीले एमालेको उम्मेदवार बनाएका थिए । तर, पूर्वधानमन्त्री माधवकुमार नेपालको प्रस्तावमा गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका डा. खिमलाल देवकोटाले एमाले उम्मेदवार थापालाई सहजै हराइदिएका थिए । केही समयअघि राष्ट्रिय सभाका एक तिहाई सदस्यका लागि भएको निर्वाचनमा पनि एमाले बढारिएको थियो । यसको छाया आगामी निर्वाचनमा पर्ने छ ।
अब एमाले देशव्यापी रुपमा स्थानीय तहबाट बढारिने अवस्थामा पुगेको छ । एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) बनेपछि एमाले थप कमजोर बनेको छ ।
ओलीले एमालेको अस्तित्व नै संकटमा पर्ने भन्दै गठबन्धन हुन नदिन अनेक अस्त्र प्रयोग गरेका छन् । एमालेका प्रदेश अध्यक्षहरूले केही दिनअघि सम्पन्न केन्द्रीय कमिटी बैठकमा सत्ता गठबन्धन भए निर्वाचन जित्न नसकिने रिपोर्टिङ गरेका थिए । एमाले छाड्नेको संख्या बढ्दै गएको भन्दै उनीहरूले चिन्तासमेत प्रकट गरेका थिए ।
ओली प्रदेश अध्यक्षहरूको रिपोर्ट सुन्नुअघि नै आत्तिसकेका थिए । सोही कारण ओलीले सत्तारुढ गठबन्धन हुन नदिने अनेक खेल खेलेका छन् र गठबन्धन भत्काउन शेखर कोइरालालाई प्रयोग गरेका छन् । तर, गठबन्धन दलका शीर्ष नेताहरूले ओलीको षड्यन्त्रकारी चाललाई भताभुंग पारिदिएका छन् ।
एकमहिने निर्वाचनी अभियानअन्तर्गत जिल्ला पुगेर आएका कांग्रेस नेताहरूले केन्द्रीय कार्यसमिति बैठकमा आवश्यकताका आधारमा गठबन्धन बनाएर जानुपर्ने मत राखेका थिए । सत्तारुढ अन्य दलहरूले यसअघि नै गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय लिइसकेका छन् । एकीकृत समाजवादीले निर्वाचनको मिति घोषणा भएलगत्तै गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन आह्वान गरेको छ ।
गठबन्धनको ढाँचा
सत्ता गठबन्धनका शीर्ष नेताहरूको आगामी बैठकले गठबन्धनको ढाँचालाई अन्तिम रुप दिने भएका छन् । गठबन्धनका दलहरूले अहिले जितेको स्थान आफैले लिने र एमालेले जितेको स्थानमा भागबन्डा गर्ने सहमति गरिसकेका छन् । आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा समेत गठबन्धन कायम गर्ने गरी तल्लोतहसम्मै गठबन्धनको संस्कार विकास गर्ने तयारीमा शीर्ष नेताहरू लागेका छन् । स्थानीय निर्वाचनको परिणाम अनुकूल दिने र प्रदेश र केन्द्रमा पनि सत्तारुढ गठबन्धनबाटै निर्वाचन लड्ने रणनीति शीर्ष नेताहरूको छ ।
महानगरपालिका र उपमहानगरपालिकामा केन्द्रबाट टुंग्याएर नगरपालिका र गाउँपालिकामा तल्लो तहका कमिटीलाई निर्णय गर्न दिने सहझदारी गठबन्धनका शीर्ष नेताहरूको छ । ६ महानगरमध्ये २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले विराटनगर र ललितपुर महानगरपालिका जितेको थियो । एमालेले काठमाडौं र पोखरा, माओवादी केन्द्रले भरतपुर र जसपाले वीरगञ्ज महानगरपालिका जितेको थियो । एमालेले जितेको काठमाडौं र पोखरामध्ये एक महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउने सहमति शीर्ष तहमा भइसकेको स्रोतले बताएको छ । काठमाडौं र पोखरामध्ये एउटा एकीकृत समाजवादी र अर्को कांग्रेसले लिने सहमति जुटिसकेको स्रोतले दृष्टिलाई बतायो ।
प्रतिगामी गठबन्धनको कसरत
ओरालो यात्रामा लागेका ओली प्रतिगामी शक्तिसँग मिलेर स्थानीय निर्वाचन लड्ने रणनीतिमा लागेका छन् । ओलीले पूर्वपञ्चहरूको पार्टी राप्रपा, विखण्डको नारा दिने सिके राउतको जनमत पार्टी तथा महन्थ ठाकुर र राजेन्द्र महतोको लोसपाबीच निर्वाचन तालमेलको गृहकार्य थालेका छन् । यसबाट पनि एमाले प्रतिगामी कित्ताको नेतृत्व गर्दै पलनको डिलमा पुगेको बुझिन्छ ।
एमालेको अवस्था ?
पार्टी नफुटेको अवस्थामा २०७४ को निर्वाचनमा एमालेको जितेका मध्ये आधाभन्दा बढी तहमा पाँच सयभन्दा कम मतान्तर रहेको छ । पार्टी विभाजन र सत्ता गठबन्धनको भारीले आगामी निर्वाचनमा एमाले किचिने निश्चित छ ।
अघिल्लो निर्वाचनमा एक निर्विरोधसहित १७१ गाउँपालिका र नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकासहित १२३ नगर गरी २९४ स्थानीय तहमा एमालेका उम्मेदवार विजयी भएका थिए ।
५०० भन्दा कम मतान्तरले जित्ने एमालेका स्थानीय तहका प्रमुखको संख्या १३६ छ । यो संख्या एमालेले जितेका स्थानीय तहको झन्डै आधा हो । अब, एमालेबाट विद्रोह गर्नेहरू एकीकृत समाजवादी पार्टीमा आवद्ध भएपछि स्थानीय तहमा एमाले पत्तासाफ हुने निश्चित छ ।
एमालेले जितेको ३३ स्थानीय तहमा दुई अंकको मात्रै मतान्तर रहेको छ । झापाको कमल गाउँपालिकामा त कांग्रेस उम्मेदवारसँग मत बराबरी भएपछि एमालेकी मेनुका काफ्ले गोलाप्रथाबाट विजयी भएकी थिइन ।
यस्तै, अछामको चौरपाटी गाउँपालिकामा एमालेका उम्मेदवार १ मतले मात्र विजयी भएका थिए भने भोजपुरको रामप्रसाद राई गाउँपालिका ८ मतले एमाले उम्मेदवार विजयी भएका थिए ।
यस्तै, ३५ स्थानीय तहमा एमालेका उम्मेदवार १०१ देखि २००, २३ स्थानीय तहमा २०१ देखि ३००, २९ स्थानीय तहमा ३०१ देखि ४०० र १६ स्थानीय तहमा ४०१ देखि ५०० सम्मको मतान्तरले विजयी भएका थिए ।
यस्तै, ६६ स्थानीय तहमा ५०१ देखि १०००, ३० स्थानीय तहमा १००१ देखि १५०० र ६१ स्थानीय तहमा १५०१ भन्दा बढी मतान्तरले एमालेका उम्मेदवार विजयी भएका थिए ।
निर्णायक बन्यो एकीकृत समाजवादी
एमाले दिनप्रतिदिन कमजोर बन्दै गएको छ । विद्रोहको जगमा स्थापना भएको एकीकृत समाजवादीप्रति जनलहर बढ्दै गएको छ । प्रायः हरेक जिल्लामा एमालेबाट विद्रोह गरेर हजारौँको संख्यामा समाजवादीमा प्रवेश गरिरहेका छन् ।
केही दिन अघि मात्रै केपी शर्मा ओलीको गृहजिल्ला झापाका नेकपा कालकै केन्द्रीय सदस्य भास्कर काफ्ले एमाले छाडेर एकीकृत समाजवादीमा आवद्ध भएका छन् । एमालेबाट मात्र नभइ अन्य पार्टी र स्वतन्त्र व्यक्तिको आकर्षणसमेत समाजवादी बनेको छ ।
एकीकृत समाजवादीले प्रदेश १ र बागमती प्रदेशको सरकार प्रमुखको जिम्मेवारी पाएको छ । अन्य प्रदेशमा पनि एकीकृत समाजवादी सरकारमा छ । केन्द्र सरकारमा एकीकृत समाजवादीमा चार मन्त्री र एक राज्यमन्त्री छन् ।
प्रतिनिधि सभा र राष्ट्रिय सभामा मात्रै होइन, प्रदेश सभामा पनि समाजवादीको शक्ति निर्णायक छ । स्थानीय तहको निर्वाचनमा एमालेविरोधी गठबन्धन सशक्त हुने भएकोले एमालेले जितेका नगर र गाउँपालिकाका धेरैले एकीकृत समाजवादी पार्टीबाट निर्वाचन लड्ने तयारी गरेका छन् । जसले गर्दा एमालेलाई हार्ने उम्मेदवार पाउन मुस्किल हुने देखिन्छ ।














