
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकस्थित सिपाडोलमा सञ्चालनमा आएको तरकारी बजारको आज उद्घाटन गर्ने भएका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको देशकै ठूलो दाबी गरिएको २ अर्बको लगानीमा सञ्चालित तरकारी बजारको उनले उद्घाटन गर्न लागेका हुन् । एमालेका केन्द्रीय सदस्य प्रसाईंले सञ्चालन गरेको ‘सूर्यविनायक हरित कृषि थोक बजार’ को अध्यक्ष ओलीले आज बिहान ११ बजे उद्घाटन गर्दै छन् । प्रसाईंका अनुसार ३५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त तरकारी बजारभित्र साढे सात सय वटा स्टल रहेका र बजार प्रत्येक दिन राति २ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला रहने छ ।
तरकारी बजार उद्घाटनमा जाने क्रममा ओलीलाई एमाले नेता महेश बस्नेतसहितको टोलीले मोटरसाइकलबाट स्कर्टिङ गर्ने जनाइएको छ ।












