
काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ ।
आयोगले यसअघि निवेदन दिन छुटेकाहरुलाई उक्त अवधभित्र फेरि निवेदन दिन सूचना प्रकाशन गर्दै अनुरोध गरेको हो ।आयोगले गएको पुस २५ गते ६८ वटा पालिकाका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन ३५ दिने सूचना जारी गरेको थियो । तर, २८ वटा पालिकाले विभिन्न कारण देखाउँदै सो अवधिभित्र लगत संकलन गर्न नसकेको भन्दै पुनः सूचना प्रकाशित गर्न आयोगसमक्ष अनुरोध गरेका थिए ।
आयोगले आज सूचना जारी गर्दै इलाम, झापा, मोरङ, उदयपुर, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवरपरासी, नवलपुर, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका २८ वटा पालिकाका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई तोकिएको स्थानमा खटिएका लगत संकलक मार्फत ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको हो ।
यसअघि नै निवेदन दिइसकेका सुकुम्बासीहरुलाई भने जग्गाको निस्सा प्रदान गरिसकिएको आयोगले जनाएको छ ।












