काठमाडौँ। चीनले उत्तरी शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट हिजो नयाँ रिमोट सेन्सिङ स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण गरेको छ।

‘याओगान–५००३’ नामक उक्त स्याटेलाइटलाई परिमार्जित ‘लङ मार्च–६’ रकेटमार्फत अन्तरिक्षमा पठाइएको हो। प्रक्षेपणपछि स्याटेलाइट निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरिसकेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। चिनियाँ अधिकारीहरूका अनुसार यो प्रक्षेपण अभियान पूर्ण रूपमा सफल भएको छ।
यस स्याटेलाइटलाई मुख्यतया भू–सर्वेक्षण, बाली उत्पादनको अनुमान तथा विपद् व्यवस्थापन र राहतसम्बन्धी कार्यमा प्रयोग गरिनेछ। रिमोट सेन्सिङ स्याटेलाइटले अन्तरिक्षबाट पृथ्वीको सतहसम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने गर्दछ। यस्ता उपग्रहबाट प्राप्त जानकारी भूमि व्यवस्थापन, कृषि अनुगमन, प्राकृतिक विपद्को आकलन तथा उद्धार एवम् राहत कार्यको योजना बनाउन उपयोगी हुने विश्वास लिइएको छ।
यो प्रक्षेपण चीनको ‘लङ मार्च’ रकेट शृङ्खलाको ६७२औँ उडान अभियान हो।















