Logo
Logo

११ गतेदेखि १५ गतेसम्म पानी पर्ने, सावधानी अपनाउन आग्रह


0
Shares

काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात (आँधी) मा परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आउँदो हप्ता नेपालको मौसम प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार उक्त न्यूनचापीय क्षेत्र क्रमशः बलियो हुँदै कात्तिक ९ गते चक्रवातका रूपमा विकसित भई भारतको उत्तरी आन्ध्र प्रदेश तथा दक्षिणी ओडिसा आसपासको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्न सक्ने सम्भावना छ।

यस मौसम प्रणालीका कारण कात्तिक ११ गते बुधबारदेखि १५ गते आइतबारसम्म नेपालमा मौसम बदली भई वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। यद्यपि, नेपालमा कति मात्रामा वर्षा हुन्छ, जोखिमको स्तर कस्तो रहन्छ र यसले कस्तो असर पार्न सक्छ भन्नेबारे अहिल्यै यकिन गर्न नसकिने महाशाखाको भनाइ छ। सम्भावित प्रतिकूल मौसमले विशेषगरी कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले पूर्वसतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाका अनुसार मौसमसम्बन्धी मोडल तथा भू-उपग्रहबाट प्राप्त तस्बिर र तथ्याङ्कको विश्लेषण गर्दै यस प्रणालीको विकासक्रममाथि निरन्तर निगरानी भइरहेको छ। प्रणालीको अवस्था र सम्भावित प्रभावबारे थप जानकारी प्राप्त भएपछि आवश्यकताअनुसार सूचना अद्यावधिक गरिने पनि महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्