काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपाली कांग्रेसले देशको हित र आवश्यकतालाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्ने बताएका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशले आज यहाँ आयोजना गरेको ‘दोस्रो किसुनजी स्मृति राष्ट्रिय खुल्ला महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता पुरस्कार वितरण’ कार्यक्रममा बोल्दै उनले कांग्रेसले देशको आवश्यकतालाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने बताए । उनले भने, ‘कांग्रेसले सत्तामा हुँदा पनि नहुँदा पनि एउटै नीति अवलम्बन गर्छ ।’
प्रवक्ता डा महतले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका बारेमा छलफल गर्न सबै राजनीतिक दललाई बोलाएको स्पष्ट पारे । उनले विपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीले भनेजस्तो फोन पनि गर्नुभएन भन्ने आरोप निराधार भएको बताए ।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका डा महतले प्रधानमन्त्री देउवाले भारत भ्रमणका अवसरमा नेपालको हित र राष्ट्रिय चासोका सबै विषयहरु कुरा उठाउने बताए । उनले नेपाल र भारतका बीचमा सीमा समस्याबाहेक अन्य सम्बन्ध सुमधुर रहेको बताए ।
प्रवक्ता डा महतले खेलकुदमा युवाको मोह रहेको र यसका विधा पनि व्यापक भएकाले यसको विकासमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने, ‘यसमा थोरै लगानी गरे पनि धेरै प्रतिफल आउँछ, त्यसैले यसलाई प्राथमिकतामा राख्नुपर्दछ ।’












