काठमाडौं । नेपाली जनता दल र नव नेपाल डेमोक्रेटिक पार्टी एकता प्रक्रिया पूरा गरेसँगै अब एक भएका छन् ।
नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह र नव नेपाल डेमोक्रेटिक पार्टीका अध्यक्ष अनुप पहाडीले पार्टी एकीकरण पत्रमा हस्ताक्षर गरेका छन् । काठमाडौं आयोजित पार्टी एकता कार्यक्रममा दुई अध्यक्षले एकीकरण पत्रमा हस्ताक्षर गरेसँगै ती दुई दल एक भएका हुन् । दुवै पार्टीका अध्यक्षले विभिन्न संवादपछि हाल एकताको स्थितिमा आइपुगेको बताएका छन् ।
दुवै पार्टीबीच राष्ट्रिय मुद्दा र विकासबारे समानता रहेको जनाउँदै हरिचरण शाह राष्ट्रिय अध्यक्ष र अनुप पहाडी संघीय परिषद् अध्यक्ष रहने गरी पार्टी एकीकरण गरिएको बताइएको छ । जनयुद्ध, जनआन्दोलनलगायतबाट प्राप्त गणतन्त्रको उपलब्धि रक्षा गर्दै समाजवादी क्रान्तिको यात्रामा स्पष्ट र दृढ मत रहेको एकतापछि उनीहरुले प्रतिक्रिया दिएका छन् । दुई पार्टीबीच यसअघि प्रतिगामी कदमको सामना गरेर अघि बढ्ने सहमति भएको छ ।
एकीकरण पत्रमा संयुक्त रुपमा हस्ताक्षर गर्दै शाह र पहाडीले संगठनका बाँकी कार्यभार पूरा गर्ने र देशलाई समानता, न्यायको बाटोमा हिँडाउनेसमेत प्रतिबद्धता जनाएका छन् ।














