काठमाडौं । धनुषा, प्युठान, बर्दिया, बाँके, सर्लाही, सुर्खेत, बझाङ, सिरहा र सप्तरीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ ।
धनुषा, जनकपुर उपमहानगरपालिका–१४ बाबा पेट्रोलपम्प नजिक सडकमा बाग्मती प्रदेश ३ –००१ ख १४०६ नम्बरको ट्रकको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धनुषा, मिथिला नगरपालिका–८ जमुनिवास चोकस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय दिल बहादुर आलेको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मोडेल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
प्युठान, प्युठान नगरपालिका–१० हाडिगैरा भन्ने स्थानमा रा.१ त ३६०३ नम्बरको ट्रयाक्टर सडकबाट करिब १५ मिटर तल रियलटप बेकरीमा खसेर शनिबार दिउँसो दुर्घटना हुँदा चालक दाङ राप्ती गाउँपालिका–७ सिसहनिया बस्ने ४५ वर्षीय रामदेब चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै, बर्दिया, बाँसगढी नगरपालिका–८ पीसीओ चोकस्थित सडकमा से.७ प ५६९० नंम्बरको मोटरसाइकल र भे.६ प ५०२२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा भे.६ प ५०२२ नम्बरको मोटरसाइकलका चालक बर्दिया ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँ बस्ने ५० वर्षीय कर्ण बहादुर थापाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएकी कर्ण बहादुरकी श्रीमती ३५ वर्षीया चन्द्रा थापाको कौसल्या अस्पतालमा उपचार भइरहेको छ । से.७ प ५६९० नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके, कोहलपुर नगरपालिका–२ सालको बुटास्थित सडकमा भे.२ त ९३९ नम्बरको ट्याक्टर र भे.७ प ५४४६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटनामा हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–४ बस्ने ४४ वर्षीय रेशम डाँगीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाही, मलंगवा नगरपालिका–१० जिबिस चोकस्थित सडकमा साईकलको ठक्करबाट पैदलयात्री सर्लाही कविलासी नगरपालिका–५ बस्ने ६८ वर्षीय अच्छेलाल राय यादवको शनिबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको ओम अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । साइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुर्खेत, गुर्भाकोट नगरपालिका–१३ शेरघारी फर्मस्थित सडकमा भे.१ ह ३०४९ नम्बरको अटो अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा गुर्भाकोट नगरपालिका–१४ बस्ने ६० वर्षीय पदम बहादुर रासकोटीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेहेलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, बझाङ, बित्थडचिर गाउँपालिका–४ स्थित सडकमा सुदूर पश्चिम प्रदेश ०१–००१ च ००९५ नम्बरको बलेरो जिप अनियन्त्रित भई गएराति दुर्घटना हुँदा जिपमा सवार सुर्मा गाउँपालिका–१ बस्ने २७ वर्षीय विनोद बोहराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र देउलेखमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका ७ जनामध्ये ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।
सिरहा, बरियारपट्टी गाउँपालिका–५ कजरा चोकस्थित सडकमा स.१ त ३९४३ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार धनगढीमाई नगरपालिका–५ जैपुर बस्ने २० वर्षीय शहदेव महतोको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राउ सरकारी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सप्तरी, रुपनी गाउँपालिका–५ मुसहरनिया बसबिटीस्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २८ वर्षीय रविन्द्र यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराज सप्तरीमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ७१ वर्षीय भरत यादव र उनकै नाति १६ वर्षीय सुभाष कुमार यादवको युनिक अस्पताल रुपनीमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














