काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन् ।

शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित ‘पार्टी जागरण अभियान’को उद्घाटन गर्दै संयोजक दाहालले तत्कालीन जनयुद्धको स्मरण गर्दै जनताका मुद्दा निष्ठापूर्वक उठाउँदा जस्तोसुकै प्रतिकूलतामा पनि जनसमर्थन जुट्ने विश्वास व्यक्त गरे । प्रारम्भिक चरणको कठिन यात्राको समीक्षा गर्दै उनले शुरुवाती दिनमा सिमित संख्यामा रहेका कार्यकर्ताबाट शुरु भएको आन्दोलन कालान्तरमा लाखौँ जनताको समर्थनमा रूपान्तरण भई मुलुकमा ऐतिहासिक परिवर्तन सम्भव भएको बताए । इतिहासमा आफ्नो पार्टीले खेलेको भुमिका र विचारको महत्वलाई अवमूल्यन गर्न खोजिएको टिप्पणी गरे ।
वर्तमान राजनीतिक परिवेशमा माओवादी आन्दोलन र त्यसको ऐतिहासिक योगदानलाई कमजोर आँक्ने प्रवृत्ति बढेको उल्लेख गर्दै अध्यक्ष दाहालले परिवर्तनका संवाहकलाई उपेक्षा गर्ने प्रयास सफल नहुने जिकिर गरे । उनले विचार, सिद्धान्त र बलिदानको जगलाई कसैले पनि सजिलै मेटाउन नसक्ने स्पष्ट पारे । पूर्वप्रधानमन्त्री दाहालले पछिल्लो समय पार्टीप्रति भइरहेका विभिन्न टीकाटिप्पणी र आलोचनाप्रति संकेत गर्दै इतिहासलाई ‘माइनस’ गरेर अघि बढ्न नसकिने चेतावनी दिए ।
उनले भने, ‘जनताका मुद्दा उठाउने र जनताकै निम्ति लड्ने हो भने अन्ततः जनताले साथ दिन्छन् भन्ने विश्वासका साथ हामी अघि बढ्यौँ । जनयुद्ध शुरु गर्दा हामी जम्मा ६० जना थियौँ। त्यही सङ्ख्या बढ्दै ६००, ६ हजार, ६ लाख हुँदै ६० लाखसम्म पुग्यो र अन्ततः नेपाल गणतन्त्र बन्यो । आज हाम्रो विचार र इतिहासमा खेलेको भूमिकालाई अवमूल्यन गर्ने प्रयास भइरहेको छ । तर हामीलाई विश्वास छ, केही समयपछि देशमा फेरि नयाँ परिस्थिति निर्माण हुनेछ ।’
उनले जनताको हित र परिवर्तनका एजेन्डामा दृढ रहेर अगाडि बढेमा निकट भविष्यमै फेरि पार्टीको पक्षमा अनुकूल राजनीतिक माहोल बन्ने विश्वास व्यक्त गरे ।















