
काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको अधिकार स्थानीय संयन्त्रलाई नै दिएको छ । तर, महानगर र उपमहानगर भने केन्द्रले टुंगो लगाउने सहमति भएको थियो ।
महानगर र उपमहानगर बाँडफाँटका लागि गठबन्धनमा छलफल चलिरहेको छ । सबै दलले अधिकांश महानगरमा दाबी गरेपछि गठबन्धनभित्र सहमति जुट्न सकेको छैन ।
यसैबीच आज बसेको गठबन्धनको बैठकमा नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकासहित थप तीन उपमहानगरपालिकामा मेयर दाबी गरेको छ ।
एकीकृत समाजवादीले पोखरा महानगरपालिका र इटहरी, हेटौंडा तथा तुलसीपुर उपमहानगरपालिकामा दाबी गरेको हो ।
गठबन्धनमा आवद्ध पाँच दलले ६ महानगर र ११ उपमहानगरपालिका बाँडफाँट गर्नुपर्ने छ ।














