एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले चेन्नई सुपर किङ्सलाई पराजित गरेको छ । गएराति भएको खेलमा साविक विजेता चेन्नईलाई ३ विकेटले हराउँदै नवप्रवेशी टोली गुजरातले पाँचौँ जित दर्ता गरेको हो ।
चेन्नईले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर भेट्टायो । गुजरातको जितमा डाभिड मिल्लरले ९४ रनको अर्धशतकीय पारी खेले । यस्तै, कप्तान राशिद खानले ४०, अभिनव मनोहरले १२ र हृदिमन साहले ११ रन बनाए । चेन्नईका ड्वाने ब्राभोले ३, महेष थिकसनाले २, रविन्द्र जडेजा र मुकेश चौधरीले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो । चेन्नईका रुतुराज गायकवाडले ७३ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् ।
त्यस्तै, अम्बाती रायडुले ४६, कप्तान रविन्द्र जडेजाले २२ तथा पशवम दुबेले १९ रन जोडे । गुजरातका अल्जारी जोसेफले २ विकेट लिए भने मोहम्मद शामी र यश दयालले एक/एक विकेट लिए । जितसँगै गुजरातले ६ खेलमा १० अंक जोडेको छ । गुजरात शीर्ष स्थानमा यथावत रहेको छ । चेन्नईको भने यो पाँचौँ हार हो । चेन्नई दुई अंक जोडेर नवौँ स्थानमा छ ।











