काठमाडौं । यही वैशाख ८ देखि १९ सम्म दक्षिण कोरियामा हुने वल्र्ड पुम्से च्याम्पियनसिपमा भाग लिने नेपालका खेलाडीलाई बिदाइ गरिएको छ । उक्त च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपालका पाँच जना खेलाडी र प्रशिक्षक कोरिया प्रस्थान गरेका छन् ।
च्याम्पियनसिपमा पुरुष ५० वर्षमुनिको समूहमा रोशन खान, ४० वर्षमुनि समूहमा कमल श्रेष्ठ, ३० वर्षमुनिको समूहमा प्रेमबहादुर लिम्बू र पार्वती गुरुङ तथा जुनियरको १७ वर्षमुनिको समूहमा अब्बास अन्सारीले प्रतिस्पर्धा गर्दैछन् । च्याम्पियनसिपमा सहभागी हुन लागेका कमल र पार्वती १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् ।
च्याम्पियनसिपमा स्वर्ण जितेमा एक लाख ५० हजार, रजत पदक जितेमा एक लाख र कास्य पदक जितेमा ५० हजार नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै, सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै नोर्बु लामा पनि दक्षिण कोरिया प्रस्थान गर्ने भएका छन् । नोर्बुले पुम्से विधामा सहायक प्रशिक्षकको भूमिका निर्वाह गर्ने भएका हुन् ।
नोर्बुले सन् २०२०, २०२१ र २०२२ मा एसियाली खुला, २०२२ मा विश्व तेक्वान्दो मुजु प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । उनले अनलाइन प्रतियोगितामा पनि निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।











