काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक आज फेरि बस्दैछ । महानगर र उपमहानगरको भागबण्डालाई अन्तिम रूप दिन बिहान बैठक बस्न लागेको हो ।

गठबन्धनका शीर्ष नेताहरू सहमतिका लागि हिजो रातिदेखि बिहान साढे २ बजेसम्म छलफलमा थिए । तर, अन्तिम निष्कर्षमा पुग्न भने सकेनन् । सहमति हुन नसकेपछि बिहान ११ बजे फेरि जुट्ने गरी बैठक सकिएको थियो । बैठकमा सहभागी नेताहरूले बैठक निष्कर्ष नजिक पुगेको बताएका छन् । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार छलफल सकारात्मक रूपले अगाडि बढेकाले निष्कर्ष नजिक पुगेको हो ।
नेकपा एकीकृत समाजवादीका नेता विजय पौडेलले महानगरको भागवण्डामा सैद्धान्तिक सहमति जुटिसकेकाले अब उपमहानगरको भागवण्डालाई अन्तिम रूप दिन बाँकी रहेको जानकारी दिए । ६ महानगरमध्ये कांग्रेसले ३ र बाँकी दलले एक/एकवटा महानगर लिने गरी सैद्धान्तिक सहमति भएको उनले बताए । आजको बैठकले यसलाई अन्तिम रूप दिने नेताहरूको भनाइ छ ।














