काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस भोलि नेपाल आउँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार तीनदिने औपचारिक भ्रमणका लागि उनी नेपाल आउन लागेका हुन् ।
वैशाख ८ देखि १० गतेसम्म हुने भ्रमणका क्रममा महानिर्देशकसँगै डब्ल्यूएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल, डब्ल्यूएचओका अन्य अधिकारीहरू नेपाल आउन लागेका मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बेग्ला–बेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले परराष्ट्रमन्त्री डा. नारायण खड्का र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग पनि भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।














