झापा । बुद्धशान्ति गाउँपालिका–८ मा दैनिकजसो चितुवाले पशु चौपाया मार्न थालेपछि स्थानीयवासी त्रसित हुन थालेका छन् । दिनभर आदर्श सामुदायिक वनभित्र बस्ने र साँझ परेपछि गाउँ पसेर स्थानीयवासीको सँगुर, बाख्रा, गाईलगायत मार्न थालेपछि स्थानीय त्रसित हुन थालेका हुन् ।

आदर्श सामुदायिक वन उपभोक्ता समितिका सदस्य सीताराम बाँस्तोलाका अनुसार दुई दिनदेखि चितुवाले गाउँ पसेर आतंक मच्चाउन थालेको छ । उनले हिजो राति भोजराज बाँस्तोलाको बाख्रा मारेको, दीपक बाँस्तोलाको बाख्रा र देवीप्रसाद अधिकारीको गाईको बाछो घाइते बनाएको बताए । चितुवाले अञ्जु प्रधानको दुई वटा सुँगुर र पदमबहादुर एक्तेनको एउटा सुँगुर मारेको छ । “एकातिर हात्तीको पीर छ, अर्कोतिर चितुवाको पनि थपियो ”, उनले भने, “ज्यान जोगाउनै गाह्रो भयो ।” चितुवाले गाउँमा दुःख दिन थालेपछि डिजिभन वन कार्यालय र प्रहरी प्रशासनलाई गुहार्दासमेत कोही नआएको उनको दुःखेसो छ । डिभिजन वन कार्यालयका वन अधिकृत ओम भट्टराईले चितुवा नियन्त्रणमा लिन खोर बनाउँदै गरेको बताए ।
उनले स्थानीयले जानकारी गराएलगत्तै खोरको व्यवस्था गर्न थालेको बताए । उनले भने, “तत्काल खोरको व्यवस्था गरेर नियन्त्रणमा लिन्छौँ ।” हाल मेचीनगर र बुद्धशान्ति गाउँपालिकाका केही सामुदायिक वनमा कोशी टप्पु वन्यजन्तु आरक्ष केन्द्रले स्वचालित क्यामेरा जडान गरेर हात्ती, चितुवा, बाघलगायतका जंगली जनावरको निरीक्षण गरिरहेको छ ।
चितुवासँगै हात्ती आतंक
लामो समयदेखि सो क्षेत्रमा जंगली हात्तीले समेत दुःख दिइरहेको छ । प्रायः बालीनाली पाकेको मौका छोपर गाउँ पस्ने हात्तीले गएराति मात्र स्थानीय कुलप्रसाद पौडेलको पाक्न लागेको मकै खाइदिएको छ । उनको पाँच कट्ठामा लगाइएको मकै खाइदिएको छ भने सावित्रा दंगालको मकै र बर्खे धान कुल्चिएर क्षति पुर्याएको आदर्श सामुदायिक वन उपभोक्ता समितिका सदस्य सीताराम बाँस्तोलाले जानकारी दिए ।














